काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ ।
नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।
‘पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले सूचनामा बैंक खाता रोक्का गर्नुको कारण खुलाएको छैन । तर, बैंक स्रोतका अनुसार अवैध भुक्तानीमा यी मोबाइल वालेटको संलग्नता देखिएपछि बैंक खाता रोक्का गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानमा यी वालेटबाट सुन तस्करी, हुन्डी र क्रिप्टो कारोबार लगायतको भुक्तानी भएको पाइएको छ । सीआइबीकै अनुसन्धानका आधारमा नेपाल राष्ट्र बैंकले दुवै कम्पनीको बैंक खाता रोक्का गरेको हो ।
यी वालेटबाट भएको कारोबार निकै शंकास्पद र गैरकानुनी देखिएको सीआइबीले जनाएको छ । सीआइबीले अनुसन्धान पूरा नभएसम्मका लागि दुवै वालेटको खाता रोक्का गर्न राष्ट्र बैंकलाई भनेको थियो ।राष्ट्र बैंकले समेत दुवै वालेटको सुपरीवेक्षण गर्दा कानुन विपरीत कारोबार गरेको पुष्टि भएपछि खाता रोक्का गरेको हो ।
सीआइबीले ब्रेक सुमा लुकाइएर ल्याइएको सुन तस्करीबारे अनुसन्धान गरिरहेको छ । सोही क्रममा भुक्तानी माध्यमको अनुसनधान हुँदा दुवै वालेटबाट कारोबार भएको भेटिएको सीआइबीले जनाएको छ ।