काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको सुरुदेखि नै लगातार निक्षेप थपिरहेको छ । रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि हुनु, आयात घट्नु लगायत कारणले निक्षेप एकोहोरो बढिरहेको हो ।
अहिले समग्र बैंकिङ प्रणालीमा कुल निक्षेप ६२ खर्ब रुपैयाँ नाघेको छ । यद्यपि, निक्षेप बढे पनि सोही अनुपातमा कर्जा लगानी भने बढ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको चैतसम्म निक्षेप वृद्धिदर ७.२ प्रतिशत रहेको छ भने कर्जाको वृद्धिदर ४.९ प्रतिशत मात्रै छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४ खर्ब ९ अर्ब निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब कर्जा लगानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न आवश्यक रकम निक्षेपमार्फत संकलन गर्छन् । बैंकहरूले निक्षेप व्यक्तिगत र संस्थागत रुपमा संकलन गर्छन् । बैंकहरूले धेरै ब्याजदर दिएर निक्षेपकर्तालाई आकर्षित गर्छन् । यद्यपि, धेरै ब्याजदर दिँदैमा निक्षेप आउँछ भन्ने छैन । निक्षेपकर्ताले आफ्नो विश्वासका आधारमा थोरै ब्याजदर दिने बैंकमा पनि राख्छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा झण्डै दुईतिहाई छ । चैतसम्म कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ६२.८० प्रतिशत र संस्थागत निक्षेप ३७.२० प्रतिशत छ ।
चैतसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ५४ खर्ब ४३ करोड रुपैयाँ रहेकोमा सर्वसारधणको पैसा मात्रै ३३ खर्ब ५८ अर्ब रुपैयाँ छ । संस्थागत र अन्य निक्षेपकर्ताको २० खर्ब ८५ अर्ब रुपैयाँ छ ।
कुन बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा धेरै ?
सामान्यतया बैंकहरूको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्साका आधारमा सर्वसाधरणले कति विश्वास गरेका छन् भन्ने हेरिन्छ । अर्थात् जुन बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा धेरै छ, त्यो बैंकप्रति सर्वसाधरणको विश्वास धेरै रहेको बुझिन्छ ।
चैतसम्म सरकारी स्वामित्वको नेपाल बैंकप्रति सर्वसाधरणको सबैभन्दा धेरै विश्वास रहेको देखिन्छ । अर्थात् बैंकहरूको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा नेपाल बैंकमा सबैभन्दा धेरै छ ।
कुल २ खर्ब ६२ अर्ब निक्षेप रहेको नेपाल बैंकमा २ खर्ब १५ अर्ब रुपैयाँ व्यक्तिगत निक्षेप छ । यो बैंकको कुल निक्षेपको ८२.२४ प्रतिशत हो । नेपाल बैंकमा संस्थागत निक्षेपकर्ताको पैसा ४६ अर्ब ५६ करोड रुपैयाँ मात्रै छ ।
त्यस्तै, सर्वसाधरणको दोस्रो धेरै विश्वास माछापुच्छ्रे बैंक । देखिन्छ । कुल १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको माछापुच्छ्रेमा व्यक्तिगत निक्षेपको हस्सिा ७२.७४ प्रतिशत अर्थात् १ अर्ब ११ अर्ब रुपैयाँ छ ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६८.१९ प्रतिशत रहेको छ । कुल ३ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको लक्ष्मीमा सर्वसाधरणको निक्षेप २ खर्ब १५ अर्ब रुपैयाँ छ ।
त्यस्तै, सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको सर्वसाधरणको निक्षेप ६७.४४ प्रतिशत छ । कुल ३ खर्ब ६९ अर्ब निक्षेप रहेको यस बैंकमा व्यक्तिगत निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ छ ।
रकममा आधारमा सबैभन्दा धेरै ४ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको ग्लोबल आइएमई बैंकमा व्यक्तिगत निक्षेप ६७.०१ प्रतिशत छ । यस बैंकमा सर्वसाधरणको निक्षे ३ खर्ब १६ अर्ब रुपैयाँ छ ।
त्यस्तै, सिटिजन्स, एभरेष्ट, सानिमा, कृषि विकास, सिद्धार्थ, प्रभु र एनएमबी बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा ६० प्रतिशत रहेको छ ।
तुलनात्मक रुपमा ठूला भनिने नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, एनआइसी एशिया, प्राइम कमर्शियल बैंकमा व्यक्तिगत निक्षेपको हिस्सा कम छ । यी बैंकहरूमा सर्वसाधरणको निक्षेप हिस्सा औसतभन्दा कम छ ।
वाणिज्य बैंकमध्ये नेपाल एसबीआइ र हिमालयन बैंकमा सर्वसाधरणको निक्षेप सबैभन्दा कम छ । यी बैंकको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा आधा मात्रै छ ।
एसबीआइमा सर्वसाधरणको पैसा सबैभन्दा कम अर्थात् ५०.०१ प्रतिशत मात्रै छ । कुल १ खर्ब ७४ अर्ब निक्षेप रहेको यस बैंकमा सर्वसाधरणको ८७ अर्ब २५ करोड रुपैयाँ मात्रै छ । त्यस्तै, हिमालयनमा सर्वसाधरणको निक्षेपको हिस्सा ५०.४८ प्रतिशत मात्रै छ ।