हवाई टिकटमा भ्याट लगाउँदा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुँदैन : नाट्टा

काठमाडौं ।  नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए पनि नहटाउँदा पर्यटन व्यवसायी र हवाई यात्रुलाई समस्या परेको उल्लेख छ ।

‘गत वर्षको बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि पर्यटन व्यवसायी र हवाई यात्रु मर्कामा परेका छन्, जसका कारण नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य मात्रामा बढ्न सकेको छैन,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष थापाले हवाई क्षेत्रको विकासका रूपमा सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याट बढाउँदा आगामी आवमा पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गरे।

हवाई टिकटमा भ्याट लगाउँदा यात्रु र व्यवसायीमा आर्थिक रूपले वृद्धि भइरहेको तथा यस पेसामा संलग्न व्यवसायीहरुसमेत विस्तापित हुने वातावरण सिर्जना भएको नाट्टाले जनाएको छ ।

भारतमा विद्युत् निर्यात सुरू, दैनिक ४०० मेगावाट बेच्दै प्राधिकरण Read Previous

भारतमा विद्युत् निर्यात सुरू, दैनिक ४०० मेगावाट बेच्दै प्राधिकरण

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट