काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यातायात क्षेत्रका डेढ दर्जन आयोजनालाई प्राथकिमतामा राखेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेटमा सुरुङमार्ग, फास्ट ट्रयाक, राष्ट्रिय राजमार्गहरु, पडवे, जलयातायात लगायत आयोजनालाई प्राथमिकतामा राखेको छ ।
यस्ता छन् बजेटमा समावेश यातायात क्षेत्रका प्रमुख आयोजना
१. सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइनेछ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड र कमला–कञ्चनपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ।
काँकड़भिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिंगे र भालुबाङ्ग–लमही सडक खण्ड स्तरोन्नति कार्य शुरू गरिनेछ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि रू. २९ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।
२. काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ। ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइनेछ। काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाका लागि रू. २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।
३. मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडक खण्ड समेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिनेछ। मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि रू. ३ अर्ब ६८ करोड विनियोजन गरिएको छ । हुलाकी राजमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न रू. ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।
४. कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइनेछ। कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्ड र मालढुंगा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिनेछ। कर्णाली कोरिडोरको ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। उत्तर दक्षिण कोरिडोरको लागि रू. ४ अर्ब ४३ करोड विनियोजन गरिएको छ ।
५. मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन रू. ३ अर्ब ६० करोड विनियोजन गरिएको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। नागढुंगा–नौबिसे–मुग्लिङ्ग खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिनेछ। आँबुखैरनी–पोखरा खण्डमा कालोपत्रे सम्पन्न गरिनेछ। मुग्लिङ्ग–आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य शुरू गरिनेछ। यसको लागि रू. ९ अर्ब ५७ करोड विनियोजन गरिएको छ ।
६. शहीद मार्ग अन्तर्गत होलेरी–दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे, दारबोट–घर्ती गाउँ–दुईखोली खण्डमा बीस किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे शुरू गरिनेछ। यसको लागि रू. १ अर्ब २५ करोड विनियोजन गरिएको छ । भेरी कोरिडोर, तमोर कोरिडोर, महाकाली कोरिडोर, सेती लोकमार्ग र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको स्तरोन्नति गरिनेछ। कोरिडोर तर्फ रू. ३ अर्ब ८६ करोड विनियोजन गरिएको छ ।
७. अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेशीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न गरिनेछ। स्याफ्रुबेशी–रसुवागढी सडक स्तरोन्नति कार्य शुरू गरिनेछ। यसका लागि रू. १ अर्ब ८० करोड विनियोजन गरिएको छ ।
८. पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइनेछ।
९. राष्ट्रिय राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिनेछ। नारायणी तथा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडि बढाइनेछ। यी कार्यक्रमका लागि रू. २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
१०. सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिनेछ। सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरिनेछ। ग्वार्को चोकमा फ्लाईओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिनेछ। कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य शुरू गरिनेछ। सुरुङमार्ग, फ्लाईओभर र इन्टरसेक्सन निर्माणका लागि रू. ५ अर्ब ६३ करोड विनियोजन गरिएको छ ।
११. राष्ट्रिय राजमार्गको २ सय ५० किलोमिटर र अन्य राजमार्गको ७ हजार ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न रू. ६ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।
१२. सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिनेछ। सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा क्र्यास व्यारियरको निर्माण गरिनेछ। काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिनेछ।
१३. जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गरिनेछ। पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिनेछ। केरुंग–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ। रेलमार्ग विकासका लागि रू. ३ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।
१४. सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण शुरू गरिनेछ। नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिनेछ।
१५. यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइनेछ। दिगो तथा वातावरण मैत्री यातायात प्रणालीको विकास गरिनेछ।
१६. सडक दूर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
आगामी वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रू. १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरिएको छ ।