चोभार सुख्खा बन्दरगाहबाट आयात ४७% बढ्यो, ११ भन्सारबाट निर्यात शून्य

काठमाडौं । चोभार सुख्खा बन्दरगाहबाट आयात बढ्न थालेको छ । २०७८ चैतदेखि संचालनमा आएको बन्दरगाहमा सुरुआती वर्ष सुनसानप्रायः रहे पनि पछिल्ला महिनाहरूमा व्यस्त हुन थालेको छ ।

हाल नेपालमा २९ वटा भन्सार नाकाबाट वैदेशिक व्यापार हुने गरेको छ । तीमध्ये चोभार बन्दरगाह धेरै सामान आयत हुने २० भन्सारमा भित्र पर्न थालेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चोभार बन्दारगाह चालु आवमा धेरै सामान आयात हुने भन्सार मध्ये १९ औं स्थानमा परेको छ । चालु आवको १० महिनामा चोभार सुख्खा बन्दरगाहबाट ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । कुल आयातमा चोभारको हिस्सा ०.६ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा चोभारबाट हुने आयात ४६.६२ प्रतिशतले बढेको हो । गत वर्ष वैशाखसम्म चोभारबाट साढे ५६ करोडको वस्तु आयात भएको थियो ।

सरकारले २०८० वैशाखदेखि चोभार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने व्यवस्था गरेको थियो । साथै ड्यामरेज चार्जमा समेत छुट दिएको थियो । त्यसपछि यस बन्दरगाहबाट आयात ह्वात्तै बढेको हो । अहिले चोभार बन्दरगाहबाट मुख्यगरी सवारीसाधन आयात हुने गरेको छ ।

चोभारबाट आयात ह्वात्तै बढे पनि निर्यात भने शून्य रहेको विभागले जनाएको छ । डेढ अर्ब बढी लगानीमा निर्माण गरिएको यस बन्दरगाहको ५०० कन्टेनर पार्किङ गर्ने क्षमता छ ।

सबैभन्दा धेरै आयात वीरगञ्जबाट

चालु आवको १० महिनामा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको । सोमध्ये वीरगञ्ज भन्सारबाट मात्रै एकतिहाई बढी अर्थात् ३४.३२ प्रतिशत आयात भएको छ । वैशाखसम्म वीरगञ्जबाट कुल ४ खर्ब ४७ अर्ब रुपैयाँ बढीको सामान आयात भएको छ । भारतीय बन्दरगाहबाट नजिक र सहज सडक पूर्वाधारका कारण यो नाकाबाट धेरै वैदेशिक व्यापार हुने गरेको हो ।

यस्तै, भैरहवा भन्सारबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १५.१० प्रतिशत हो । त्यसैगरी सुख्खा बन्दुगाहबाट १ खर्ब ७२ अर्ब, विराटनगरबाट १ खर्ब ३८ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब १७ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ ।

चालु आवमा त्रिवेणी भन्सारबाट सबैभन्दा कम ३ लाख ८१ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । त्यस्तै, पशुपतिनगरबाट ८ लाख ३१ हजार र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख ८४ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

११ भन्सारबाट निर्यात शून्य

चालु आवको १० महिनामा ११ वटा भन्सार नाकाबाट निर्यात शून्य रहको छ । यस अवधिमा २९ वटै नाकाबाट सामान आयात भए पनि १८ वटा भन्सार कार्यालयबाट मात्रै निर्यात भएको छ ।

विभागका अनुसार सुनसरी, जनकपुर, चोभार, भद्रपुर, महेशपुर, राजविराज, पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल, सिराहा, टाँडी र त्रिवेणी भन्सारबाट एक रुपैयाँको पनि सामान निर्यात भएको छैन ।

सरकारी बेवास्ता, आवश्यक पूर्वाधारको अभाव र छिमेकी देशको असहयोगका कारण यी भन्सारबाट निर्यात हुन नसकेको हो । २९ वटै भन्सारबाट वस्तु आयात हुने भए पनि केही नाकामा निर्यातका लागि आवश्यक व्यवस्था मिलाइएको छैन ।

समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सबैभन्दा धेरै वस्तु निर्यात भएको छ । वैशाखसम्म त्रिभुवन विमानस्थलबाट २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यो कुल निर्यातको २२.४८ प्रतिशत हो । यस भन्सारबाट गलैँचा, कार्पेट, छुर्पी लगायत वस्तु धेरै बाहिरिएको छ ।

त्यस्तै, दोस्रो धेरै निर्यात विराटनगर भन्सारबाट भएको छ । यस भन्सारबाट वैशाखसम्म २५ अर्ब ४९ करोड रुपैयाँको सामान विदेशिएको छ । यस नाकाबाट अलैँची, चिया, अम्रिसो, अदुवा, प्लाइवुड लगायत वस्तु बाहिरिएको छ ।

त्यस्तै, वीरगञ्ज भन्सारबाट २०.१९ प्रतिशत अर्थात् २५ अर्ब ४७ करोड रुपैयाँको वस्तु बाहिरिएको छ । यस नाकाबाट सिमेन्ट तथा क्लिंकर, फलामे पाता लगातयत वस्तु धेरै निर्यात भएको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, वीरगञ्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, त्रिवेणी, टाँडी, चोभार, त्रिभुवन, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित Read Previous

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

अझै यी दुई कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ? Read Next

अझै यी दुई कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?