काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च गिरावट आएको छ । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार दुवै कम्पनीको नाफामा भारी गिरावट आएको हो ।
काठमाडौंको बालाजुमा प्लान्ट संचालन गरिरहेको बोटलर्स नेपाल बालाजुले चालु आवको ९ महिनामा ३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशतले कम हो । गत वर्ष चैतसम्म कम्पनीले ४० करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
आर्थिक मन्दीका कारण कुल आम्दानी घट्दा र वित्तीय लागत बढ्दा कम्पनी घाटामा गएको हो । साथै, कच्चा पदार्थको मूल्य वृद्धि, बिक्रीवितरण लागत बढेकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३ करोड रुपैयाँ घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, संचालन मुनाफा ६५ करोड ९३ लाख रुपैयाँबाट घटेर ४४ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, वित्तीय लागत दोब्बरले बढेर ९ करोड बढेर २३ करोड २३ लाख रुपैयाँ पुगेको छ । हाल १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीके जगेडा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत वर्ष २७५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष घटेर २४ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार २२९ रुपैयाँ छ । कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ ।
त्यस्तै, चितवनमा प्लान्ट सञ्चालन गरिरहेको बोटलर्स नेपाल (तराई) चालु आवको चैतसम्म २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २७.२९ प्रतिशत कम हो । गत वर्ष चैतसम्म कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८ करोड घटेर ५ अर्ब ८१ करोड रुपैयाँ सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ९९ करोड थियो । त्यस्तै, कम्पनीको संचालन नाफा १० करोड रुपैयाँ घटेर ४८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ६८ लाख रुपैयाँ घटेर २० करोड १२ लाख रुपैयाँमा झरेको छ । हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ११० रुपैयाँ घटेको छ । गत वर्ष ३९८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु आवमा २८८ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने बढेर ३ हजार ३९७ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल तराईको अन्तिम सेयर कारोबार मूल्य १२ हजार ८०० रुपैयाँ छ ।