सस्तिँदै कर्जाको ब्याजदर, बेसरेट ७ प्रतिशतसम्म झर्‍यो, कुनको कति ?

काठमाडौं । कर्जाको ब्याजदर सस्तिँदै गएको छ । वाणिज्य बैंकहरूले कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाएकाले आधारदर (बेसरेट) घट्न गई कर्जाको ब्याजदर पनि घट्दै गएको हो ।

अहिले वाणिज्य बैंकहरूको औसत बेसरेट साढे ८ प्रतिशतमा झरेको छ । बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको विवरण अनुसार औसत बेसरेट ८.५३ प्रतिशत रहेको छ । यो २ वर्ष यताकै सस्तो हो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले ८ महिना यता महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्लो ८ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले एकल अंकमा आइपुगेको हो ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । अहिले बैंकमा करिब साढे ५ खर्ब बढी पैसा थुप्रिएको छ । एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १३/१४ प्रतिशतमा झरेको छ ।

धेरै जसो बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतभन्दा कममै ऋण दिन थालेका छन् । ९ प्रतिशत भन्दा कम बेसरेट भएका १५ बैंकले चाहे भने १ प्रतिशत मात्रै प्रिमियम जोडर एकल अंकको ब्याजदरमै ऋण दिन सक्छन् । यद्यपि, ९ प्रतिशत माथि बेसरेट भएका सिटिजन्स, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्शियल र कुमारी बैंकले भने चाहेर पनि एकल अंकको ब्याजदरमा ऋण दिन सक्दैनन् ।

कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

वाणिज्य बैंकको बेसरेट ७ प्रतिशतसम्म झरेको छ । हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यसको बेसरेट ७.०१ प्रतिशतमा झरेको छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडर पनि अधिकतम् साढे ११ प्रतिशतमै ऋण दिन सक्छ ।

तुलनात्मक रूपमा राष्ट्रिय वाणिज्य, नेपाल र एभरेष्ट बैंक पनि सस्तोमा ऋण दिन सक्ने बैंकमा पर्छन् । यी बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम रहेको छ । बैशाखसम्म राष्ट्रिय वाणिज्यको बेसरेट ७.३५, एभरेष्टको ७.४८ र नेपालको ७.८५ प्रतिशत रहेको छ ।

त्यस्तै, हाल १० बैंकको बेसरेट ८ देखि ९ प्रतिशतको बीचमा रहेको छ । जसमा नबिलको ८.१ प्रतिशत, सानिमाको ८.४१ प्रतिशत, प्रभु ८.४९ प्रतिशत, सिद्धार्थ ८.५१ प्रतिशत, ग्लोबल आइएमई ८.५९ प्रतिशत, कृषि विकास ८.६१ प्रतिशत, माछापुच्छ्रे ८.७ प्रतिशत, नेपाल एसबीआई ८.७७ प्रतिशत, एनआइसी एशिया ८.८६ प्रतिशत र एनएमबीको ८.९४ प्रतिशत रहेको छ ।

५ बैंकको बेसरेट भने ९ प्रतिशत माथि छ । सिटिजन्स, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्शियल र कुमारी बैंकको बेसरेट ९ प्रतिशत माथि । तुलनात्मक रूपमा यी बैंक्बाट ऋण लिँदा महँगो पर्छ ।

४ वर्षदेखि बन्द श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन Read Previous

४ वर्षदेखि बन्द श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

गर्मीले अण्डा उत्पादन घट्यो, लागत बढ्यो Read Next

गर्मीले अण्डा उत्पादन घट्यो, लागत बढ्यो