डिजेल र पेट्रोलको खपत बढ्यो, सरकारले पायो ८९ अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । पेट्रोलियम पद्धार्थबाट चल्ने गाडीको आयात घटे पनि डिजेल, पेट्रोलको खपत भने बढेको तथ्यांकले देखाएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको १० महिना (साउन-वैशाख)मा हवाई इन्धन बाहेकको खपत बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासको खपत औसत १ प्रतिशतले बढेको छ ।

चालु वर्षमा डिजेलको खपत सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको छ । वैशाखसम्म ११ लाख ९ हजार ११० किलोलिटर डिजेल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२ हजार ८८० किलोलिटर धेरै हो । गत वर्ष वैशाखसम्म १० लाख ८६ हजार २३० किलोलिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत १.५९ प्रतिशतले बढेको छ । वैशाखसम्म ५ लाख ६७ हजार ९३५ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्षको तुलनामा चालु आवमा पेट्रोल खपत ८ हजार ८६७ किलोलिटर बढेको छ । गत वर्ष सोही अवधिमा ५ लाख ५९ हजार ६८ किलोलिटर आयात भएको थियो ।

चालु वर्षमा खाना पकाउने एलपी ग्यासको आयात १.७० प्रतिशतले बढेको छ । गत वर्ष वैशाखसम्म ४२ करोड ८७ लाख किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा ४३ करोड ५९ लाख किलो आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा ७२ लाख ८० हजार किलो धेरै ग्यास आयात भएको छ ।

चालु आवमा मट्टीतेलको खपत भने ०.३३ प्रतिशतले घटेको छ । गत वर्ष वैशाखसम्म ९ हजार ७६४ किलोलिटर मट्टीतेल खपत भएकोमा चालु आवमा ३२ किलोलिटर घटेर ९ हजार ७३२ किलोलिटरमा सीमित भएको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन अवधि बढ्दा डिजेलको खपत बढेको हो । कतिपय उद्योगहरूले नियमित बिजुली नपाउँदा पनि डिजेल खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।

चालु वर्षको विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । १० महिनाको अवधिमा साढे ८ हजार बढी चारपाँग्रे र ५ हजार ८८९ दुईपाँग्रे ईभी नेपाल भित्रिएका छन् । ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो ।

त्यस्तै, पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो । सन् २०२३ मा मात्रै १० लाख बढी पर्यटक नेपाल आएका छन् ।

विदेशिने रकम भने घट्यो

चालु वर्षको पेट्रोलियक पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने ५.०३ प्रतिशतले घटेको छ । गत वर्ष १० महिनामा इन्धन खरिदका लागि कुल २ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ विदेशिएको थियो भने चालु आवको सोही अवधिमा २ खर्ब ३७ अर्ब ९ करोड बाहिरिएको छ ।

चालु वर्षमा इन्धन खरिदका लागि गत वर्षकोभन्दा साढे ११ अर्ब रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियक पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो ।

गत वर्षको तुलनामा चालु वर्षमा विश्व बजारमा कच्चा तेलको भाउ सस्तिँदा विदेशिने रकम घटेको हो ।

आयात बढ्दा सरकारलाई साढे ४ अर्ब फाइदा

पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकोले सरकारले पाउने राजस्व पनि बढेको हो ।

गत वर्षको तुलनामा चालु वर्षमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत ४ अर्ब ४७ करोड रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष वैशाखसम्म इन्धन आयातबापत सरकारले ८४ अर्ब ३५ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु वर्षको सोही अवधिमा ८८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै ४४ अर्ब ८९ करोड, पेट्रोलबाट ३२ अर्ब ५४ करोड, हवाई इन्धनबाट २ अर्ब ५४ करोड र खाना पकाउने एलपी ग्यासबाट ८ अर्ब ५८ करोड राजस्व असुली गरेको छ ।

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर कालोपत्र गरिँदै Read Previous

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर कालोपत्र गरिँदै

कामीरिताले फेरि तोडे आफ्नै रेकर्ड, ३०औं पटक सगरमाथाको शिखरमा Read Next

कामीरिताले फेरि तोडे आफ्नै रेकर्ड, ३०औं पटक सगरमाथाको शिखरमा