काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको डेढ वर्षसम्म आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।यद्यपि, पटक पटक मन्त्रीहरू फेरबदल भएका छन् ।
मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा भएको घरजग्गा, सुनचाँदी तथा गरगहना, सवारीसाधन, बैंक तथा वित्तीय संस्थाहरूमा भएको नगद मौज्दात, विभिन्न कम्पनीको सेयर लगायत सम्पत्ति र ऋण समेत सार्वजनिक गरेका छन् ।
यहाँ हामीले मन्त्रीहरूको अन्य चल/अचल सम्पत्ति बाहेक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमा गरिएको सेयर लगानी मात्र उल्लेख गरेका छौं ।
कसको कति छ सेयर लगानी ?
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको नाममा विभिन्न कम्पनीको १५ लाख ९०५ कित्ता साधरण/संस्थापक सेयर रहेको छ । उक्त सेयरमा १ करोड ९ लाख ८० हजार ५०९ रुपैयाँ बराबर लगानी गरेको उल्लेख गरेका छन् । उक्त सेयरको खरिदको स्रोत स्वआर्जन र पैतृक रहेको उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी श्रमती जुलीकुमारी महत्तोको नाममा गुडविल फाइनान्स र लक्ष्मी बैंकको ५ लाख रुपैयाँ, महिला लघुवित्तको १ करोड रुपैयाँ र कर्पोरेट बैंकको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर रहेको छ ।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमनत्री सुमना श्रेष्ठसँग बुबाले दिएको नबिल बैंकको ७ हजार ४९१ कित्ता सेयर रहेको उल्लेख गरेकी छिन् ।
त्यसैगरी, श्रम तथा रोजगार मनत्री डोलप्रसाद आर्यलसँग मेगा बैंकको १० हजार कित्ता सेयर रहेको छ । उनले व्यापारबाट कमाएको पैसाले उक्त सेयर किनेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनकाे बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार कित्ता, जनसागर सहकारी १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार कित्ता सेयर लगानी छ ।
त्यसैगरी, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीको नाममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २ लाख ४२ हजार १०५ कित्ता र अन्य कम्पनीहरूको १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले ती सबै सेयर स्वआर्जनबाट खरिद गरेको उल्लेख गरेकी छिन् ।
त्यस्तै, संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको नाममा विभिन्न कम्पनी (नाम नखुलाएको) १ हजार ५०० कित्ता सेयर रहेको छ ।
त्यस्तै, गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेललको नामा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको ८ लाख ७५ हजार कित्ता सेयर रहेको छ ।