काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
२३ सदस्यीय मन्त्रिपरिषद्मा २१ जनाको सम्पत्ति विवरण सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसीना खानको भने सम्पत्ति विवरण प्राप्त नभएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको डेढ वर्षसम्म आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएकाे थिएन । यसबीचमा पटक पटक मन्त्रिपरषद् हेरफेर भएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । साथै, हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ ।बाट सार्वजनिक भएको सम्पत्ति विवरणमा अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको उल्लेख छ ।
कसको कति छ सम्पत्ति ?
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको अचल सम्पत्तिको रुपमा दीवंगत श्रीमती सीता दाहालको नाममा भरतपुर महानगरपालिकामा १५ कठ्ठा जमिन र घर रहेको छ । उनको सो सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख छ ।
यस्तै दाहालको नाममा चल सम्पत्तिको रुपमा एभरेस्ट बैंकमा २५ लाख रुपैयाँ र गरगहनामा ५ तोला सुन रहेको विवरणमा उल्लेख छ।विवरण अनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनको एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको उल्लेख छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्री पुनको रोल्पा नगरपालिका ७ मा पैतृक सम्पत्तिको रुपमा ८२० वर्ग मिटरमा फैलिएको घर रहेको उल्लेख छ । उनीसँग मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ ।
त्यस्तै, गृहमन्त्री रवि लामिछानेको नाममा काठमाडौंको बूढानीलकण्ठ–८ मा ५ आना जग्गा, भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको छ। बुढानिलकण्ठको घर पारिश्रमिक बापत कमाएको रकमबाट ३ करोड ७५ लाखमा किनेको र भक्तपुरको जग्गा पैतृक रहेको उल्लेख छ ।
यस्तै, काठमाडौं महानगरपालिका–७ मा श्रीमति निकिता पौडेलको नाममा १० रोपनी (सगोलमा)रहेको छ । लामिछानेसँग करिब ८० तोला सुन र १५ देखि २० केजीसम्म चाँदिका भाँगाकुँडा रहेको उल्लेख छ।
गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी १ लाख १० हजार रुपैयाँ र निकिताको विभिन्न बैंक खातामा ५ लाख ५८ हजार रुपैयाँ मौज्दात छ ।
त्यस्तै, निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर, ३ करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ,
गोरखाको सिरानचोक गाउँपालिका–८ मा पैतृक जग्गा ३७ रोपनीभन्दा बढी रहेको छ । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपलब्ध गराएको महिन्द्राको गाडी प्रयोग गर्ने गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छ।श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुरमा ३ कट्ठाको घर–घडेरी, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको उल्लेख छ । यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।
त्यस्तै, रघुवीरको नाममा जनकपुर उपमहानगरपालिका–१४ मा १ बिघा १५ कट्ठा जग्गा, स्ट्याण्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकमा २ करोड २५ रुपैयाँ नगद मौज्दात छ। उक्त नगद विभिन्न ठाउँको जग्गाहरु र पैतृक सम्पत्तिबाट आर्जन भएको उनले उल्लेख गरेका छन् । त्इस्तै, ४३ तोला सुन र डेढ केजी चाँदी रहेको उल्लेख छ ।
श्रीमती जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँ, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ ।