काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ३ दिनमै नेप्से ९६ अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूले १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशत सेयर बेच्न पाउने व्यवस्था गरेसँगै बजारमा उत्साह देखिएको हो ।
मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज ३१७ कम्पनीको ५ अर्ब २० करोड रुपैयाँ बढीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै समूहमध्ये विकास बैंक र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । आज लगानीकर्ता फाइनान्स कम्पनीको सेयरमा आकर्षित भएका छन् । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ ।
आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ६४ लाख रुपैयाँ बढीको ३ लाख ४८ हजार ८९० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ कम्पनीको घटेको छ ।
आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सबैको लघुवित्तको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, बुद्ध भूमि नेपाल हाइड्रोपावर र मध्यभोटेकोशी हाइड्रोपावरका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् । आज साइन रेसुंगा डेभलपमेन्टका सेयरधनीले भने सर्वाधिक ४.२८ प्रतिशत गुमाएका छन् ।