काठमाडौं । पछिल्लो समय बैंकिङ व्यवसाय सुस्त छ । बैंकहरूले निक्षेप उल्लेख्य रुपमा बढाए पनि कर्जा विस्तार गर्न सकेका छैनन् ।
अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुँदा बैंकहरूले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न नसकेका हुन् । निक्षेप बढ्दा बैंकहरुको खर्च बढिरहेको छ भने कर्जा लगानी बढ्न नसक्दा आम्दानी घटिरहेको छ ।
अर्कोतर्फ आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरूको कर्जा असुलीमा समस्या देखिएको छ । जसकारण बैंकहरूको नाफा घट्नुका साथै खराब कर्जा ह्वात्तै बढेको छ । चैतसम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेर औसतमा ३.६४ प्रतिशत पुगेको छ ।
चालु आवको कात्तिकदेखि ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि नीतिगत लचकता अपनाउँदै आएको छ । अर्थतन्त्र शिथिल नहुँदा र व्यवसायीको मनोवल बढ्न नसक्दा अझै कर्जाको माग बढ्न सकेको छैन ।
पछिल्लो १ वर्ष यता निक्षेप संकलन एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, घट्दो आयात लगायत कारणले निक्षेप लगातार थपिरहेको हो । चालु आवको १० महिनामा वाणिज्य बैंकहरुले मात्रै ३ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको निक्षेप ७.५२ प्रतिशत बढेको छ ।
तर, यही अवधिमा बैंकहरूको कर्जा लगानी भने न्यून छ । निक्षेप साढे ७ प्रतिशतले बढ्दा कर्जा लगानी ४.७८ प्रतिशत मात्रै छ । जबकि अघिल्ला वर्षहरूमा बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै हुने गरेको थियो । चालु आवमा वाणिज्य बैंकहरूले २ खर्ब ६ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
निक्षेप बढिरहँदा बैंकहरूको ब्याज खर्च बढिरहेको छ भने कर्जा विस्तार गर्न नसक्दा आम्दानी पनि घटिरहेको छ । कर्जाको माग नहुँदा बैंकहरूले आफूले संकलन गरेको निक्षेप बैंकमै थुपारेर राख्न बाध्य भएका छन् । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ ।
कर्जाको माग बढ्न अहिले बैंकिङ प्रणालीमा साढे ५ खर्ब बढी तरलता थुप्रिएको छ । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६० अर्ब कर्जा लगानी गर्नुपर्छ । तर, चालु आवको १० महिना (वैशाखसम्म) साढे २ खर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । पछिल्लो समय कर्जाको माग थोरै बढ्न थाले पनि यस वर्ष कर्जा विस्तारको लक्ष्य भने हासिल नहुने देखिएको छ ।
व्यवसाय विस्तारमा नबिल आक्रमक
आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।
समीक्षा अवधिमा नबिलले सबैभन्दा धेरै ४५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले चालु आवमा गरेको कुल कर्जा लगानीको २१.९० प्रतिशत हो ।
चालु आवमा नबिल एक्लैले गरेको कर्जा अरु ८ बैंकले गरेको कुल कर्जा लगानी बराबर हो । चालु आवमा सिद्धार्थ, नेपाल एसबीआई, इन्भेष्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, एनएमबी, हिमालयन र माछापुच्छ्रेले कुल ४५ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, यस अवधिमा नबिलले ५१.७१ अर्ब निक्षेप संकलन गरेको छ ।यो कुल निक्षेपको १३.५२ प्रतिशत हो ।
निक्षेपमा राष्ट्रिय वाणिज्य अगाडि
चालु आवको १० महिनामा सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ६५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
चालु आवको वैशाखसम्म ग्लोबल आइएमईले ३८ अर्ब ४९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ३७ अर्ब ५ करोड, कृषि विकास २९ अर्ब २६ करोड, प्राइम कमर्शियलले २८.३६ करोड, नेपाल एसबीआईले २५ अर्ब ७१ करोड र एभरेष्टले २५ अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यसैगरी, एनआइसी एसियाले २२ अर्ब ६३ करोड, लक्ष्मी सनराइज १९ अर्ब ४६ करोड, हिमालयन १६ अर्ब ३५ करोड, नेपाल १४ अर्ब १७ करोड, १२ अर्ब ५५ करोड, कुमारी १० अर्ब ८३ करोड, सानिमा ९ अर्ब ७९ करोड, सिद्धार्थ ३ अर्ब ८९ करोड र एनएमबीले २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

चालु आवमा ३ बैंकको भने निक्षेप घटेको छ । जसमा प्रभु बैंकको सबैभन्दा धेरै १६ अर्ब ९ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको ८ अर्ब २५ करोड र माछापुच्छ्रेको ६ अर्ब ९ करोड रुपैयाँ निक्षेप घटेको छ ।
प्रभु र चार्टर्डको व्यवसाय खस्किँदै
चालु आवमा प्रभु र स्ट्याण्डर्ड चार्टड बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । वैशाखसम्म प्रभुको निक्षेप १६ अर्ब ९ करोड र कर्जा लगानी ४ अर्ब ९ करोड रुपैयाँले घटेको छ ।
त्यस्तै, चार्टर्डको निक्षेप ८ अर्ब २५ करोड र कर्जा लगानी ८ अर्ब ५२ करोडले घटेको छ । चालु आवमा लक्ष्मी सनराइजको पनि कर्जा लगानी १ अर्ब २९ करोडले घटेको छ ।
चालु आवमा नबिलपछि प्राइमले दोस्रो धेरै कर्जा लगानी गरेको छ । वैशाखसम्म प्राइमले २७ अर्ब ५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।
त्यसैगरी, वैशाखसम्म कृषिले १६ अर्ब ७३ करोड, एनआइसीले १६ अर्ब ६ करोड, एभरेष्टले १६ अर्ब ४१ करोड, ग्लोबल आइएमईले १४ अर्ब ११ करोड, नेपालले १३ अर्ब ७६ करोड, सिटिजन्सले १२ अर्ब ८५ करोड, सानिमाले ११ अर्ब ८१ करोड, सिद्धार्थले ११ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।