नागढुंगा-नौबिसे सुरुङमार्गको समग्रमा ७४ प्रतिशत काम सकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

आयोजनाको अझै २५.६३९ प्रतिशत काम बाँकी छ । आयोजना अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि फिनसिङ, लाइट जडान, लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी छ ।

आयोजनाको मुख्य सुरुङ वैशाख ३ गते र आपतकालीन सुरुङ गत साउने २२ गते ब्रेक थ्रु गरिएको थियो । आयोजना निर्देशक नवीनमान श्रेष्ठका अनुसार मुख्य सुरुङ फिनसिङको काम ७६.१० प्रतिशत सकिएको छ । कुल २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमध्ये हालसम्म २ हजार ४५.४० मिटर सुरुङ फिनसिङ गरिएको छ ।

फिनसिङसँगै अन्य काम पनि सँगसँगै भइरहेको उनले बताए । उनका अनुसार सुरुङमार्ग अन्तर्गत निर्मा गर्नुपर्ने संरचनामध्ये अब फ्लाइओभर मात्रै बनाउन बाँकी छ । हालसम्म फ्लाइओभरको ५ वटा सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने अब अब सुपर स्ट्रक्चर मात्रै निर्माण गर्न बाँकी छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २।३०७ किमी दुई लेन सडक कालोपत्र हुँदै छ ।

सुरुङमार्गमा गाडी गुड्न भने अझै ९/१० महिना लाग्ने आयोजनाले बताएको छ । सुरुङमार्ग संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको छ ।

यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।

सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपथ्र्यो । सो समयमा नसकिएपछि कोभिडको कारण ढिलाइ भएकोभन्दै ३ महिना (२०८० साउन ४ गतेसम्म) म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । दोस्रो पटक म्याद थपिएको समयमा पनि काम पूरा नभएपछि फेरि १ वर्ष म्याद थप्न प्रस्ताव गरिएको छ ।

नेपालले पायो 'मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन' अवार्ड Read Previous

नेपालले पायो 'मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन' अवार्ड

सेयर बजारमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट