काठमाडौं । चालु आर्थिक वर्षमा सेयर बजार बढ्न नसके पनि ऋण लिएर सेयर किन्ने भने बढेका छन् । गत साउन १ गते २१४४.१६ बिन्दुमा रहेको नेप्से घटेर बुधबार २०१७.९७ बिन्दुमा आइपुगेको छ । यस अवधिमा नेप्से १२६ अंकले घटेको छ ।
तर, चालु आर्थिक वर्षको ९ महिनामै सेयर कर्जा झण्डै १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैतसम्म लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा लिएका छन् ।
चालु आवमा सेयर कर्जा लगानी १२.९ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि सेयर धितो कर्जा लगानी भने ह्वात्तै बढेको हो । राष्ट्र बैंकको नीतिगत लचकतासँगै ब्याजदर पनि सस्तिँदै गएपछि लगानीकर्ताले ऋण लिएर धमाधम सेयर किन्न थालेका हुन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा चैत मसान्त आइपुग्दा बढेर ८६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
अघिल्ला दुई वर्षमा झन्डै ३० अर्ब रुपैयाँले घटेको सेयर धितो कर्जा चालु वर्षको ९ महिनामै झन्डै १० अर्ब रुपैयाँ बढेको छ । पछिल्लो एक महिना (चैत)मा मात्रै बैंकहरूले ४७ करोड ८१ लाख रुपैयाँ सेयर कर्जा दिएका छन् ।
चालु वर्षमा औसतमा मासिक १ अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो । राष्ट्र बैंकका अनुसार साउनमा १० करोड ५०, भदौमा १ अर्ब २७ करोड ४८ लाख, असोजमा ३ अर्ब ३२ करोड ९४ लाख, कात्तिकमा १४ करोड ३२, मंसिरमा २ करोड ९६ लाख, पुसमा ३ अर्ब १० करोड, माघमा ८८ करोड ६० लाख र फागुनमा ४० सेयर धितो कर्जा लगानी भएको छ ।
१ करोड बढी ऋण लिने १७.७ प्रतिशतले बढे
चालु आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा ठूलो रकमको ऋण ह्वात्तै बढेको छ । यस अवधिमा १ करोड बढीको ऋण १७.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा चैत आइपुग्दा बढेर ५२ अर्ब ६१ करोड पुगेको छ । समीक्षा अवधिमा १ करोड माथिको सेयर कर्जा ७ अर्ब ९० करोड रुपैयाँले बढेको हो ।
त्यस्तै, यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी २ प्रतिशत अर्थात् २३ करोड ४६ लाख रुपैयाँले बढेको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने ११ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा चैत आइपुग्दा १ अर्ब ४० करोडले बढेर १४ अर्ब १८ करोड पुगेको छ ।
२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा ४.९ प्रतिशत अर्थात् ३४ करोड २८ लाख रुपैयाँले बढेको छ । चैतसम्म २५ लाख मुनिको सेयर धितो कर्जा ७ अर्ब ३७ करोड रुपैयाँ छ ।
यस कारण बढ्दै छ सेयर कर्जा लगानी
पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकताका कारण सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । साथै, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।
त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । अहिले बैंकहरूसँग साढे ५ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
अहिले अधिकांश कम्पनीको सेयर मूल्य निकै घटेको छ । जसकारण लगानीकर्ताले सस्तो मूल्यमा सेयर उठाइरहेका छन् ।अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यिनै कारणले आगामी दिनमा सेयर बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ