काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २४ अंकले बढेको नेप्से आज सोभन्दा धेरै अंकले बढेको हो । नेप्से लगातार बढेको आज चौथो दिन हो ।
मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६८ करोडले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
आज ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।
आज लगानीकर्ता हाइड्रोपावर र माक्रोफाइनान्स कम्पनीको सेयरमा झुम्मिएका छन् । यी दुवै समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड ८१ लाख रुपैयाँ बढीको २ लाख ६ हजार ६४ कित्ता सेयर किनबेच भएको छ ।
आज २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मात्र घटेको छ । बढ्दो बजारमा आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
समाज लघुवित्त, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, जनउत्थान लघुवित्त, मानुषि लघुवित्त र रुरु जलविद्युत् कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।