नयाँ बानेश्वरमा बस बिसौनी ‘फल्चा’ सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई  फल्चा निर्माण भएका छन् । 

नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । 

उनले भने, हामीले परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ, यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न हुदैँन । 

फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरूले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए । यसमा नगर प्रहरीले पनि सहयोग गर्नेछ, उनले भने । 

महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ । 

झण्डै ६२ लाख रुपैयाँको लागतमा फल्चा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरभित्र प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।   

महानगरले परम्परागत फल्चा निर्माण गर्न चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा रू. ५ करोड विनियोजन गरेको थियो । काठमाडौँ उपत्यकाको पाटन, कीर्तिपुर र भक्तपुरमा बढी मात्रामा फल्ल्चाको प्रयोग भएको पाइन्छ ।  

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने Read Previous

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने

नेप्से २ हजार बिन्दु माथि उक्लियो, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्से २ हजार बिन्दु माथि उक्लियो, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट