अर्थतन्त्रको बाह्य क्षेत्र २ वर्ष यताकै बलियो, आन्तरिक सुधारोन्मुख, हेरौं १० तथ्यांकमा

काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार देखिएको छ । विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको तथ्यांकले देखाएको छ । यद्यपि, केही सूचकको अवस्था भने चिन्ताजनक छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)को अध्ययन प्रतिवेदन अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ । बाह्य क्षेत्रका अधिकांश सूचक २ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् । विदेशी मुद्रा, रेमिट्यान्स आप्रवाह हालसम्मकै धेरैको रेकर्ड बनाएको छ । त्यस्तै, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता लगायत सूचकमा पनि निकै सुधार देखिएको छ ।

मूल्यवृद्धि पछिल्ला ४ महिनादेखि लगातार सीमाभन्दा तल रहेको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा लगानी, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।

यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।

पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भने ब्याजदर घट्दो क्रममा छ । यद्यपि, अपेक्षित रुपमा कर्जाको माग भने बढ्न सकेको देखिँदैन ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचिति इतिहासकै धेरै : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तसम्म २४.२ प्रतिशतले बढेर १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । चैत मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब ३६ करोड डलर संचिति छ ।

२. १५ महिनाको आयात धान्ने अवस्था : डेढ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलुक श्रीलंका जस्तै बन्छ भन्ने आतंक फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । चैतसम्म राष्ट्रिय ढुकुटीमा १ वर्ष बढीको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।

आव २०८०/८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

३. रेमिट्यान्स आप्रवाह इतिहासकै धेरै : चालु वर्षमा इतिहासकै धेरै रेमिट्यान्स भित्रिँदै नयाँ रेकर्ड बनेको छ । चैतसम्म कुल १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो कुनै पनि आवको ९ महिनामा भित्रिएको हालसम्मकै धेरै रेमिट्यान्स हो ।

चालु वर्षमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार यस वर्ष औसतमा मासिक सवा १ खर्ब रेमिट्यान्स भित्रिँदै आएको छ ।

४. चालु खाता र शोधनान्तर बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म शोधान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४७ अर्ब रूपैयाँ बचतमा थियो ।

त्यस्तै, चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

५. व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको चैतको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.८ प्रतिशतले घटेर १० खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई रू ११ खर्ब ६७ अर्ब ३७ रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई रू. १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ ।

६. सरकारको खातामा ३ खर्ब बढी नगद मौज्दात : चालु आवको चैत मसान्तमा सरकारका विभिन्न खातामा ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ बढी नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रू. ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो।

७. निक्षेप र कर्जा लगानीमा वृद्धि : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन ७.२ प्रतिशत अर्थात् ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले बढेको छ ।

त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ४.६ प्रतिशतले बढेको छ । चालु वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६१ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।

८. ब्याजदर सस्तिँदै : चालु वर्षमा बैंकको ब्याजदर लगातार सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरूको १०.४१ प्रतिशत र वित्त कम्पनीहरूको १२.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेको थियो।

त्यस्तै, २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरूको ७.५८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८२ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको थियो।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत कायम भएको थियो।

त्यस्तै, २०७९ चैतमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७४ प्रतिशत रहेकोमा २०८० चैतमा ३.०० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेकोमा २०८० चैतमा ३.१० प्रतिशत रहेको छ

९. मूल्यवृद्धि नियन्त्रणमा :  समीक्षा अवधिमा मूल्य वृद्धि नियन्त्रणमा रहेको छ । पछिल्लो ४ महिना यता महँगी लगातार घट्दो क्रममा रहेको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशतमा झरेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ । २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको५.३३ प्रतिशत र हिमालको४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।

१०. सरकार १ खर्ब ६१ अर्ब घाटामा : यस अवधिमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच १ खर्ब ६१ अर्ब रुपैयाँको खाडल देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ छ भने राजस्व संकलन (आम्दानी) ७ खर्ब ४८ अर्ब रुपैयाँ मात्र छ । यस अवधिमा सरकार १ खर्ब ६१ अर्ब रुपैयाँमा घाटामा छ । समीक्षा अवधिमा सरकारको खर्च ३.६ प्रतिशतले घटेको छ भने राजस्व संकलन ९.४ प्रतिशतले बढेको छ ।

नयाँ राइड सेयरिङ 'जुमजुम' संचालनमा, यात्रुको ५ लाखसम्मको बीमा Read Previous

नयाँ राइड सेयरिङ 'जुमजुम' संचालनमा, यात्रुको ५ लाखसम्मको बीमा

बीमा चम्किँदा नेप्सेमा वृद्धि, १२७ कम्पनीको मूल्य बढ्यो Read Next

बीमा चम्किँदा नेप्सेमा वृद्धि, १२७ कम्पनीको मूल्य बढ्यो