निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् ।

यसमा सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका हुन् ।

भेटमा महासंघका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए ।

यद्यपि, यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।

ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसंगको सहकार्य आवश्यक रहेको बताए ।

यसैबीच, होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।

होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए । गत वर्ष आइएफसी र महासंघले संयुक्त रूपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

 

जेठ भित्र ऋण तिर्नेलाई एनआइसी एशियाले हर्जना र ब्याजमा छुट दिने Read Previous

जेठ भित्र ऋण तिर्नेलाई एनआइसी एशियाले हर्जना र ब्याजमा छुट दिने

लाइसेन्स नवीकरणका लागि नेपाल टेलिकमले तिर्यो २० अर्ब Read Next

लाइसेन्स नवीकरणका लागि नेपाल टेलिकमले तिर्यो २० अर्ब