काठमाडौं । सेयर बजारले बुलिस ट्रेन्ड समात्ने संकेत देखाएको छ । लामो समयदेखि वियरिस ट्रेन्डमा रहेको बजार गत सातादेखि लगातार उकालो लागिरहेको छ ।
बजार निरन्तर उकालो लागेको आज सातौं दिन हो । यस अवधिमा सूचक करिब ५० अंकले बढेको छ । यस्तै कारोबार रकममा पनि दिनदिनै बढोत्तरी आइरहेको छ । औसतमा २५ करोड कारोबार हुँदै आएको बजारमा पछिल्लो समय दैनिक आधा अर्बको कारोबार हुन थालेको छ ।
बजारले गति लिँदै गएपछि लगानीकर्ता थप उत्साहित र आशावादी बन्दै गएका छन् । लगानीकर्ताको मनोबल बढ्दै गएकाले बजारमा सेयरको मागसँगै कारोबार पनि बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज दोहोरो अंकले बढेको छ । बजार सूचक १०.११ अंकले बढेर ११६१.४७ विन्दुमा पुगेको छ । आज १७३ कम्पनीको ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँ बराबरको कारोबार भएको छ । २० लाख ४३ हजार ६०५ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा उत्पादनमूलक समूह बाहेका अरु सबै समूहको सूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ११३.१३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ४१ लाख ६१ हजार ६४८ रुपैयाँको कारोबार भएको छ ।
आज पाँच वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल सेवा लघुवित्त, डेप्रोक्स लघुवित्त, यूनाइटेड इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तको सेयर मल्य करिब १० प्रतिशतले बढेको छ ।
आज युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ३.९५ प्रतिशतले घटेको छ ।