काठमाडौं । फाइनान्स कम्पनीहरूको खराब कर्जा २९ प्रतिशतसम्म पुगेको छ । अर्थतन्त्रमा आएको मन्दी र विगतमा जथाभावी लगानी गरिएको कर्जा समयमै ऋण असुली नहुँदा अधिकांश फाइनान्सहरूको खराब कर्जा ह्वात्तै बढेको हो ।
चालु आवको तेस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा निकै माथि छ । चैत मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा औसतमा ९.०४ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.५८ प्रतिशत बिन्दुले धेरै हो । गत वर्ष चैतसम्म फाइनान्सहरूको खराब कर्जा औसतमा ६. ४६ प्रतिशत थियो ।
समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका १५ मध्ये १४ फाइनान्स कम्पनीको खराब कर्जा बढेको छ । नेपाल फाइनान्सले मात्रै खराब कर्जा घटाउन सफल भएको छ ।
आर्थिक गतिविधि शिथिल हुँदा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । ऋणीले समयमै ऋण नतिर्दा फाइनान्सहरूको खराब कर्जा बढेको हो । यद्यपि, अहिले फाइनान्स कम्पनीको मात्र नभई अधिकांश बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ ।
खराब कर्जा बढ्दै गएपछि राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा दिएको थियो । तर, पुनर्तालिकीकरण सुविधा सबै क्षेत्र र ठूला ऋणमा लागू नभएकाले खराब कर्ज घट्न नसकेको बैंकरहरू बताउँछन् ।
खराब कर्जा बढ्दा फाइनान्सहरूको नाफामा समेत ठूलो असर परेको छ । खराब कर्जा बढेपछि फाइनान्सहरूले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । चैतसम्म फाइनान्स कम्पनीले कुल १ अर्ब ५० करोड रुपैयाँ प्रोभिजन गरेका छन् । जसकारण अधिकांशको नाफा घटेको छ भने ८ कम्पनी घाटामा गएका छन् ।
समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूको कुल नाफा ३५ करोड ९९ लाख रुपैयाँ ऋणात्मक छ । जबकि गत वर्ष सोही अवधिमा ३३ करोड नाफा कमाएका थिए ।
त्यस्तै, समीक्षा अवधिमा १४ फाइनान्सको वितरण योग्य नाफा ऋणातमक छ । यस अवधिमा फाइनान्सहरूको रिटेन्ड अर्निङ ३ अर्ब ९५ करोड २७ लाख रुपैयाँ ऋणात्मक छ । मल्टिपर्पस बाहेक कुनै पनि फाइनान्सले लाभांश दिन सक्ने अवस्था छैन ।
१० फाइनान्सको खराब कर्जा सीमा माथि
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ मध्ये १० फाइनान्स कम्पनीको खराब कर्जा सीमा अर्थात् ५ प्रतिशत माथि छ । जसमा जानकी फाइनान्सको सबैभन्दा धेरै २८.९१ प्रतिशत पुगेको छ ।
त्यसैगरी, समृद्धि फाइनान्सको खराब कर्जा १७.२३ प्रतिशत, गोर्खाको १४.५० प्रतिशत, सेन्टरको ९.५७ प्रतिशत, प्रोग्रेसिभको ९.३४ प्रतिशत, नेपाल फाइनान्सको ९.२४ प्रतिशत, रिलायन्सको ८.४८ प्रतिशत, पोखराको ७.९१ प्रतिशत, गुडविलको ६.४८ प्रतिशत र गुह्येश्वरी मर्चेन्टको ५.७३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा ५ फाइनान्सको मात्र खराब कर्जा सीमाभन्दा तल छ । जसमा श्री इन्भेष्टमेन्को सबैभन्दा कम २.५५ प्रतिशत छ । त्यस्तै, मल्टिपर्पस ३.४४ प्रतिशत, आइसीएफसी ३.९१ प्रतिशत, मञ्जुश्री ३.९५ प्रतिशत र बेस्ट फाइनान्सको ४.३५ प्रतिशत छ ।
खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्छ । साथै, लाभांश वितरण र व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ ।
सेयर मूल्य भने उचालिँदै
वित्तीय रुपमा कमजोर रहे पनि फाइनान्स कम्पनीहरूको सेयर मूल्य भने अस्वभाविक रुपमा उचालिएको छ । सेयर बजार लामो समयदेखि घट्दो ट्रेन्डमा छ । नेप्सेमा सूचीकृत अधिकांश समूहको परिसूचक घट्दो छ । तर, पछिल्लो साता फाइनान्स समूहमा भने अस्वभाविक उछाल देखिएको छ ।
पछिल्लो ६ कारोबार दिनमै फाइनान्स समूहको परिसूचक २५५ अंकले बढेको छ । वैशाख १० गते १९४३ विन्दुमा रहेको फाइनान्स समूह मंगलबार २१९८ विन्दुमा पुगेको छ । जबकि यस अवधिमा नेप्से करिब ४० अंकले मात्र बढेको छ ।
चैतसम्मको अवस्था हेर्दा १४ फाइनान्स कम्पनीले लाभांश दिन सक्ने अवस्था छैन । तर, सेयर संख्या कम भएकै कारण चलखेल गरी मूल्य अस्वभाविक रुपमा बढाइएको सेयर बजारका जानकारहरू बताउँछन् ।
फाइनान्स, विकास फाइनान्स, बीमा कम्पनीहरूको तुलनामा फाइनान्स कम्पनीहरूको सेयर संख्या न्यून छ । जसकारण केही स्वार्थ समूहले सजिलै चलखेल गर्ने गरेको देखिन्छ । लगानीकर्ताहरू पनि कम्पनीको वित्तीय अवस्थाभन्दा पनि लहड र हल्लाको भरका सेयर किनबेच गर्ने गरेको देखिन्छ ।
यससाता सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीहरूमा अधिकांश फाइनान्स समूहकै छन् । यस अवधिमा केही फाइनान्स कम्पनीको सेयर मूल्य ३० प्रतिशतसम्म बढेको छ ।