काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । आइतबार १४.३३ अंकले बढेको नेप्से आज १ अंकभन्दा कमले बढेको हो ।
सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले बढेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
यसदिन ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ ।
फाइनान्स कम्पनीहरूको सेयरमा लगानीकर्ताको उच्च आकर्ष देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ४.१७ प्रतिशतले बढेको छ ।
आज पनि पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ५४ लाख रुपैयाँ बढीको २ लाख ६७ हजार ७६५ कित्ता सेयर किनबेच भएको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । बढ्दो बजारमा ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा, जानकी र नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
पिपुल्स पावरका सेयरधनीले भने सर्वाधिक ६ प्रतिशत गुमाएका छन् ।