काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जाको माग बढ्न नसकेपछि पैसा बैंकमै थुप्रिँदा सीडी रेसियो सीमाभन्दा निकै तल झरेको हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियोमा ९० प्रतिशतको सीमा तोकेको छ । तर, चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८० प्रतिशतमा झरेको छ । यस अवधिमा आध बढी बैंकको सीडी रेसियो औसतभन्दा पनि कम छ । केही बैंकको सीडी रेसियो ७० प्रतिशतसम्म झरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा साढे ५ खर्ब रुपैयाँ बढी तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । चालु आवको सुरुदेखि निक्षेप एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धि, घट्दो आयात लगायत कारणले बैंकमा निक्षेप थुप्रिरहेको छ । तर, अर्थतन्त्र चलामान हुन नसक्दा र व्यवसायीको मनोबल नबढ्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकमै थुप्रिएर बसेको छ ।
पछिल्लो १ वर्षको अवधि (२०७९ चैत(२०८० चैतसम्म)मा वाणिज्य बैंकहरूले ३ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको निक्षेप ७.२५ प्रतिशत बढेको छ । तर, यही अवधिमा बैंकहरूको कर्जा लगानी भने न्यून छ । निक्षेप सवा ७ प्रतिशतले बढ्दा कर्जा लगानी ५.३५ प्रतिशत मात्रै छ । जबकि अघिल्ला वर्षहरूमा बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै हुने गरेको थियो । पछिल्लो १ वर्षमा बैंकहरूले २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
चालु वर्षको कात्तिकदेखि ब्याजदर लगातार घटिरहेको छ । यस अवधिमै निक्षेपको ब्याज ४ प्रतिशतसम्मले घटेको छ । सँगसँगै कर्जाको ब्याज पनि सस्तिएको छ । बैंकहरूको बेसरेट एकल अंकमा झरिसकेको छ । अधिकांश बैंकले चाहेमा एकल अंक्को ब्याजदरमै ऋण दिनसक्ने अवस्था छ । साथै, राष्ट्र बैंकले पनी नीतिगत अंकुशहरू हटाउँदै कर्जा लगानीमा सहज गरिदिएको छ । यसका बाबजूद अपेक्षित रूपमा कर्जाको माग बढ्न सकेको छैन ।
अहिले बैंकमा पैसा थुप्रिए पनि माग आए पनि जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरू नै इच्छुक छैनन् । विगतमा गरिएको कर्जा लगानी असुलीमा समस्या भएपछि बैंकहरू माग आउँदैमा जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्र्न तयार नभएका हुन् ।
चालु आवमा बैंकिङ व्यवसाय दोहोरो चेपुवामा परेको छ । एकातिर कर्जाको माग बढ्न नसक्दा व्यवसाय विस्तार गर्न सकेका छैनन् । निक्षेप थुप्रिँदा ब्याज खर्च बढिरहेको छ । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समेत हम्मेहम्मे परिरहेको छ ।
अर्कोतर्फ कर्जा असुली नहुँदा खराब कर्जा ह्वात्तै बढेको छ । जसले बैंकहरूको नाफा समेत प्रभावित भएको छ । चैतसम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेर औसतमा ३.६४ प्रतिशत पुगेको छ ।
कुनको कति छ सीडी रेसियो ?
चैत मसान्तसम्म १० बैंकको सीडी रेसियो औसतभन्दा कम अर्थात् ८० प्रतिशतभन्दा तल छ । जसमा सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ७०.५३ प्रतिशत छ ।
त्यस्तै, नेपाल एसबीआइ र नेपालको सीडी रेसियो ७५ प्रतिशतभन्दा कम छ भने स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइ, कृषि विकास, एनएमबी र इन्भेष्टमेन्ट मेगाको ८० प्रतिशतभन्दा कम छ ।
समीक्षा अवधिमा १० बैंकको सीडी रेसियो औसतभन्दा बढी अर्थात् ८० प्रतिशतभन्दा माथि छ । जसमा एनआइसी एशियाको सबैभन्दा धेरै ८५.८१ प्रतिशत रहेको छ । त्यस्तै, कुमारी र प्राइम कमर्शियलको पनि सीडी रेसियो ८५ प्रतिशत छ। सिटिजन्स, नबिल, प्रभु, एभरेष्ट र माछापुच्छ्रेको सीडी रेसियो ८३ प्रतिशत छ ।
सीडी रेसियोका आधारमा सबै बैंकलाई व्यवसाय विस्तार गर्न सहज देखिन्छ । तर, पूँजीकोषका कारण केही बैंकहरू पैसा भएर पनि कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । कुमारी, प्रभु, एनआइसी एशिया लगायत केही बैंक पूँजीकोषको चर्को दबाबमा छन् ।