बैंकमै पैसा थुप्रिँदा ७० प्रतिशतसम्म झर्‍यो सीडी रेसियो, कुनको कति ?

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जाको माग बढ्न नसकेपछि पैसा बैंकमै थुप्रिँदा सीडी रेसियो सीमाभन्दा निकै तल झरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियोमा ९० प्रतिशतको सीमा तोकेको छ । तर, चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८० प्रतिशतमा झरेको छ । यस अवधिमा आध बढी बैंकको सीडी रेसियो औसतभन्दा पनि कम छ । केही बैंकको सीडी रेसियो ७० प्रतिशतसम्म झरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा साढे ५ खर्ब रुपैयाँ बढी तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । चालु आवको सुरुदेखि निक्षेप एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धि, घट्दो आयात लगायत कारणले बैंकमा निक्षेप थुप्रिरहेको छ । तर, अर्थतन्त्र चलामान हुन नसक्दा र व्यवसायीको मनोबल नबढ्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकमै थुप्रिएर बसेको छ ।

पछिल्लो १ वर्षको अवधि (२०७९ चैत(२०८० चैतसम्म)मा वाणिज्य बैंकहरूले ३ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको निक्षेप ७.२५ प्रतिशत बढेको छ । तर, यही अवधिमा बैंकहरूको कर्जा लगानी भने न्यून छ । निक्षेप सवा ७ प्रतिशतले बढ्दा कर्जा लगानी ५.३५ प्रतिशत मात्रै छ । जबकि अघिल्ला वर्षहरूमा बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै हुने गरेको थियो । पछिल्लो १ वर्षमा बैंकहरूले २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

चालु वर्षको कात्तिकदेखि ब्याजदर लगातार घटिरहेको छ । यस अवधिमै निक्षेपको ब्याज ४ प्रतिशतसम्मले घटेको छ । सँगसँगै कर्जाको ब्याज पनि सस्तिएको छ । बैंकहरूको बेसरेट एकल अंकमा झरिसकेको छ । अधिकांश बैंकले चाहेमा एकल अंक्को ब्याजदरमै ऋण दिनसक्ने अवस्था छ । साथै, राष्ट्र बैंकले पनी नीतिगत अंकुशहरू हटाउँदै कर्जा लगानीमा सहज गरिदिएको छ । यसका बाबजूद अपेक्षित रूपमा कर्जाको माग बढ्न सकेको छैन ।

अहिले बैंकमा पैसा थुप्रिए पनि माग आए पनि जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरू नै इच्छुक छैनन् । विगतमा गरिएको कर्जा लगानी असुलीमा समस्या भएपछि बैंकहरू माग आउँदैमा जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्र्न तयार नभएका हुन् ।

चालु आवमा बैंकिङ व्यवसाय दोहोरो चेपुवामा परेको छ । एकातिर कर्जाको माग बढ्न नसक्दा व्यवसाय विस्तार गर्न सकेका छैनन् । निक्षेप थुप्रिँदा ब्याज खर्च बढिरहेको छ । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समेत हम्मेहम्मे परिरहेको छ ।

अर्कोतर्फ कर्जा असुली नहुँदा खराब कर्जा ह्वात्तै बढेको छ । जसले बैंकहरूको नाफा समेत प्रभावित भएको छ । चैतसम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेर औसतमा ३.६४ प्रतिशत पुगेको छ ।

कुनको कति छ सीडी रेसियो ?

चैत मसान्तसम्म १० बैंकको सीडी रेसियो औसतभन्दा कम अर्थात् ८० प्रतिशतभन्दा तल छ । जसमा सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ७०.५३ प्रतिशत छ ।

त्यस्तै, नेपाल एसबीआइ र नेपालको सीडी रेसियो ७५ प्रतिशतभन्दा कम छ भने स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइ, कृषि विकास, एनएमबी र इन्भेष्टमेन्ट मेगाको ८० प्रतिशतभन्दा कम छ ।

समीक्षा अवधिमा १० बैंकको सीडी रेसियो औसतभन्दा बढी अर्थात् ८० प्रतिशतभन्दा माथि छ । जसमा एनआइसी एशियाको सबैभन्दा धेरै ८५.८१ प्रतिशत रहेको छ । त्यस्तै, कुमारी र प्राइम कमर्शियलको पनि सीडी रेसियो ८५ प्रतिशत छ। सिटिजन्स, नबिल, प्रभु, एभरेष्ट र माछापुच्छ्रेको सीडी रेसियो ८३ प्रतिशत छ ।

सीडी रेसियोका आधारमा सबै बैंकलाई व्यवसाय विस्तार गर्न सहज देखिन्छ । तर, पूँजीकोषका कारण केही बैंकहरू पैसा भएर पनि कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । कुमारी, प्रभु, एनआइसी एशिया लगायत केही बैंक पूँजीकोषको चर्को दबाबमा छन् ।

काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन सञ्चालनमा Read Previous

काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशतमै घरकर्जा दिने, १२ करोडसम्म पाइने Read Next

ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशतमै घरकर्जा दिने, १२ करोडसम्म पाइने