५ महिनापछि नेपाल आयो निगमको जहाज

काठमाडौं । मर्मतका लागि इजरायल पठाइएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी (९ एन एकेएक्स) जहाज झन्डै ५ महिनापछि नेपाल आएको छ ।

मर्मत सम्भार सकिएपछि उक्त जहाज दुबई हुँदै शनिबार साँझ ९:५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि निगमले इजरायलस्थित मेन्टेनेन्स एण्ड रिपेयर अर्गनाइजेशनमा मर्मत गर्न पठाएको थियो ।

मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरूको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएपछि लामो समयसम्म जहाज इजरायलमै थन्किएको थियो ।

निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार सोसँग सम्बन्धित पार्टपुर्जाहरूको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा ढिलाइ हुन पुगेको निगमले जनाएको छ ।

उक्त जहाज पूर्वनिर्धारित समय अनुसार वैशाख १० गते नै मर्मत सकी उडान भर्ने तालिका थियो । तर, ल्याण्डिङ अल्टरनेटिभ ब्रेकिङ सिस्टममा प्राविधिक समस्या देखिएकोले सो समेत बनाउन थालिँदा ढिलाइ भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उक्त जहाज नियमित संचालनमा आएपछि यात्रुहरूको माग र बजार चापलाई अझ सशक्त ढंगले सम्बोधन हुने निगमले जनाएको छ ।

लगानी सम्मेलनमा दुई सम्झौता हस्ताक्षर Read Previous

लगानी सम्मेलनमा दुई सम्झौता हस्ताक्षर

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन Read Next

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन