फूडमाण्डुको सेवा चितवनमा विस्तार, ३० प्रतिशतसम्म छुट

चितवन । लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमाण्डुले आफ्नो सेवा चितवनमा विस्तार गरेको छ । कम्पनीले शुक्रबारदेखि चितवनमा सेवा सुरू गरेको हो ।

कम्पनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखराबाट सेवा दिँदै आएको छ । चितवनवासीले अब अनलाइनबाटै खानेकुराहरूको अर्डर गर्न सक्ने कम्पनीले बताएको छ ।

फूडमाण्डुले चितवनमा पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरूसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरू पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

शाखा विस्तारको उपलक्ष्यमा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा ‘फूडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट दिएको छ ।

कम्पनीकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले कम्पनीको सेवा विस्तारसँगै उत्साहित भएको बताइन् । ‘फूडमाण्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरूका खानेकुराहरू घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ,’ उनले भनिन् ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले कम्पनीका सेवा क्रमशः देशका सहरहरूमा फैलाउने योजना रहेको बताए । ‘हामी फूडमाण्डुलाई फूड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरूमा क्रमशः फैलाउने योजनामा छौँ । काठमाडौं, पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो,’ उनले भने ।

फूडमाण्डुले आफैँ खाना बनाउँदैन । रेस्टुरेन्टहरूमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाइल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन् । फूडमाण्डुसँग अहिले १ हजारभन्दा बढी रेस्टुरेन्टहरू आबद्ध छन् ।

मुग्लिन-पोखरा सडक निर्माण दुई सिफ्टमा, रातमा पनि खटाइयो कामदार Read Previous

मुग्लिन-पोखरा सडक निर्माण दुई सिफ्टमा, रातमा पनि खटाइयो कामदार

कान्ति लोकपथ दैनिक ३ घण्टा खुल्ने Read Next

कान्ति लोकपथ दैनिक ३ घण्टा खुल्ने