काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३३.८९ प्रतिशतले बढेको हो ।
सूर्यज्योतिले चालु वर्षको चैत मसान्तसम्म २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ७ करोड ४८ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा २२ करोड ६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तले खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीले बीमालेख धितोबाट १८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको ऋण तथा लगानीबाट हुने आम्दानी ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
हाल ४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङमा १ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.२० रुपैयाँ बढेर ८.६७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३१ रुपैयाँ छ ।