काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग बढ्न थालेको देखिएको छ । पछिल्ला महिनाहरूमा अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै बजारमा वस्तुको पनि माग बढ्न थालेको हो ।
अहिले निर्माण सामग्री सँगसँगै अन्य उपभोग्य वस्तुको पनि माग बढ्न थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । पुसदेखि महिनैपिच्छे आयातमा समान्य सुधार हुँदै आएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको चैतमा पनि अघिल्लो महिनाको तुलनामा आयात बढेको छ । चैतमा १ खर्ब ३७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो चालु वर्षकै दोस्रो धेरै हो । यसअघि गत असोजमा १ खर्ब ४६ अर्बको वस्तु आयात भएको थियो ।
चैतमा फागुनको तुलनामा ४ अर्ब रुपैयाँ बढीको आयात भएको हो । फागुनमा १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
चालु वर्षमा मासिक औसतमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँको विदेशी वस्तु आयात हुँदै आएको छ । चैतमा औसतभन्दा सवा ७ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) कुल ११ खर्ब ३० अर्ब २२ रुपैयाँको वस्तु आयात भएको छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा आयात २.८४ प्रतिशत अर्थात् ३४ अर्ब अर्ब रुपैयाँले कम हो । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्ब रुपैयाँ बढीको विदेशी वस्तु आयात भएको थियो ।
चालु वर्षको असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, साउनमा १ खर्ब २९ अर्ब, भदौ १ खर्ब ३० अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब, पुसमा १ खर्ब २६ अर्ब, माघमा १ खर्ब २९ अर्ब र फागुनमा १ खर्ब ३३ रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
चैतसम्म वस्तु आयातबापत लाग्ने भन्सार दस्तुरबाट सरकारले ३ खर्ब ६ अर्ब रुपैयाँ आम्दानी छ । चैतमा मात्रै भन्सारबाट ३६ अर्ब राजस्व उठेको छ ।
मासिक साढे १२ अर्बको निर्यात
समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ९ महिनामा नेपालबाट हुने निर्यात ३.६६ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चालु आवको चैतसम्म कुल १ खर्ब १३ अर्ब रुपैयाँ सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ४ अर्ब ३३ करोड रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा १२ अर्ब ६६ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
व्यापार घाटामा सुधार
गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ । गत वर्ष चैतसम्म १० खर्ब ८३ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा ३० अर्बले घटेको हो ।
चालु आवको ९ महिनामा कुल १२खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा २.९२ प्रतिशत कम हो । गत वर्ष चैतसम्म १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।