यस वर्षको नाफाबाट दर्जन बढी बैंकले लाभांश दिन नसक्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ दर्जन बढी बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दर्जन बढी बैंकले यस वर्षको नाफाबाट सेयरधनीलाई प्रतिफल दिन नसक्ने देखिएको हो ।

चैत मसान्तसम्म २० वटा वाणिज्य बैंकमध्ये १० बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । वितरणयोग्य नाफा धनात्मक भएका मध्ये पनि ४ बैंकको लाभांश क्षमता १ प्रतिशतभन्दा कम छ । ६ वटा बैंकले मात्र सेयरधनीलाई लाभांश दिन सक्ने देखिन्छ । यद्यपि, आगामी असार मसान्तसम्म नाफा बढाए र खराब कर्जा घटाएमा भने बैंकहरूको लाभांश क्षमता बढ्ने छ ।

अर्थतन्त्रमा आएको संकुचनका कारण बैंकहरूको नाफा घट्दा र खराब कर्जा बढ्दा बैंकहरूको वितरणयोग्य नाफामा भारी गिरावट आएको हो । चैतसम्म बैंकहरूको वितरण योग्य नाफा समग्रमा १० अर्ब ९१ अर्ब रुपैयाँ ऋणात्मक छ ।

अर्थतन्त्रमा आएको मन्दीका कारण समयमै ऋण असुली नहुँदा अधिकांश बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । जसकारण बैंकहरूले ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा वितरणयोग्या नाफामा ठूलो असर परेको हो । चैतसम्म बैंकहरूको खारब कर्जा औसतमा ३.६३ प्रतिशत पुगेको छ भने साढे ३९ अर्ब रुपैयाँ प्रोभिजन गरेका छन् ।

खराब कर्जा बढ्दै गएपछि राष्ट्र बैंकले बैंक तथा ऋणीलाई कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा दिएको थियो । तर, पुनर्तालिकीकरण सुविधा सबै क्षेत्र र ठूला ऋणमा लागू नभएकाले खराब कर्जा घट्न नसकेको बैंकरहरू बताउँछन् ।

चालु आवको तेस्रो त्रैमसमा बैंकहरूको खुद नाफा १३.४७ प्रतिशतले घटेको छ । चालु आवको चैत मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३३ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यी बैंकले लाभांश दिन नसक्ने

चैत मसान्तसम्म हिमालयन, इन्भेष्टमेन्ट मेगा, कुमारी, एनआइसी एशिया, लक्ष्मी सनराइज, नेपाल, एनएमबी, ग्लोबल आइएमई, माछापुच्छ्रे र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । अहिलेसम्मको अवस्था हेर्दा यी बैंकले लाभांश बाँड्न नसक्ने देखिन्छ ।

त्यस्तै, सिटिजन्स, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्शिलयल १ प्रतिशतभन्दा धेरै लाभांश बाँड्न सक्ने क्षमता छैन ।

चैतसम्म एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, कृषि विकास, नेपाल एसबीआइ र सानिमा बैंकको भने कम्तीमा ५ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता छ । जसमा एभरेष्टको वितरण यौगय नाफा सबैभन्दा धेरै २ अर्ब ७५ करोड रुपैयाँ छ । यसबाट बैंकले अहिलेकै अवस्थामा २३ प्रतिशत लाभांश दिन सक्छ ।

त्यस्तै, दोस्रो धेरै वितरण योग्य नाफा स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब ८१ करोड रुपैयाँ छ । यसबाट बैंकले १९ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्दछ ।

कृषि, सानिमा र नबिलले ५ प्रतिशत र नेपाल एसबीआइको झन्डै ८ प्रतिशत लाभांश दिन सक्ने क्षमता छ ।

 

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्न ११० मिटर मात्र बाँकी, वैशखभित्रै 'ब्रेक थ्रु' Read Previous

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्न ११० मिटर मात्र बाँकी, वैशखभित्रै 'ब्रेक थ्रु'

कतारका अमिर पहिलोपटक नेपाल भ्रमणमा आउँदै, द्विपक्षीय सम्झौता हुने Read Next

कतारका अमिर पहिलोपटक नेपाल भ्रमणमा आउँदै, द्विपक्षीय सम्झौता हुने