काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.१९ प्रतिशतले घटेको हो ।
चालु आवको चैत मसान्तसम्म बैंकले ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकले ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी र संचालन मुनाफा बढे पनि खराब कर्जा बढ्न गई प्रोभिजन बढ्दा नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ५.६६ प्रतिशतले बढेर १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंककोे संचालन नाफा २.०७ प्रतिशतले बढेर ८१ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा बैंकले ६२ अर्ब ७७ करोड निक्षेप संकलन गरी ५१ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
हाल ४ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे जगेडा कोषमा १ अर्ब ८१ करोड र रिटेन्ड अर्निङमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंककोे वितरण योग्य मुनाफा १४ करोड ८८ लाख रुपैयाँ छ । जसबाट ४.१९ प्रतिशत लाभांश दिन पुग्छ ।
नाफा घटेसँगै बैंककोे प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँबाट घटेर १४.५ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा २.११ प्रतिशत बाट बढेर ३.४१ प्रतिशत पुगेको छ । जसका लागि बैंकले ३७ करोड १८ लाख प्रोभिजन गरेको छ ।
समीक्षा अवधिमा बैंककोे प्रतिसेयर नेटवर्थ १४१.४ रुपैयाँ, बेसरेट ९.०४ प्रतिशत र सीडी रेसीयो ८५.१२ प्रतिशत रहेको छ ।