
काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा झन्झन् बढ्दै गएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण विगतमा गरिएको कर्जा असुली हुन नसक्दा बैंकहरूको कर्जा त्रैमासैपिच्छे झन् झन बढ्दै गएको छ ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा नै औसतमा ३.६३ प्रतिशत पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ०.६४ प्रतिशत बिन्दुले धेरै हो ।
चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३.४० प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा घटेर ३.२७ प्रतिशतमा झरे पनि फेरि अहिले बढेकाे हाे । समीक्षा अवधिमा १५ बैंकको खराब कर्जा बढेको छ भने ५ वटाले मात्रै घटाउन सफल भएका छन् ।
अर्थतन्त्रमा आएको मन्दीका कारण समयमै ऋण असुली नहुँदा अधिकांश बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको हो । आर्थिक गतिविधि शिथिल हुँदा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । ऋणीले समयमै ऋण नतिर्दा बैंकहरूको खराब कर्जा बढेको हो ।
त्यस्तै, विगतमा गरिएको बिग मर्जरका कारण पनि खराब कर्जा बढेको बैंकरहरू बताउँछन् । मर्जरअघि कमजोर बैंकले लगानी गरेको कर्जा अहिले असुली हुन नसक्दा खराब कर्जा ह्वात्तै बढेको हो । मर्जरबाट पूँजी परिचालन गरेर सिनर्जी हासिल गर्न नसक्दा यी बैंकहरूले वित्तीय सफलता हात पार्न नसकेको उनीहरूको भनाइ छ ।
खराब कर्जा बढ्दै गएपछि राष्ट्र बैंकले बैंक तथा ऋणीलाई कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा दिएको थियो । तर, पुनर्तालिकीकरण सुविधा सबै क्षेत्र र ठूला ऋणमा लागू नभएकाले खराब कर्ज घट्न नसकेको बैंकरहरू बताउँछन् ।
खराब कर्जा बढ्दा बैंकहरूको नाफामा समेत असर परेको छ । खराब कर्जा बढेपछि बैंकहरूले ठूलो रकम प्रोभिजनिङका लागि छुट्याएका छन् । जसकारण अधिकांशको नाफा घटेको छ ।
चालु आवको तेस्रो त्रैमसमा बैंकहरूको खुद नाफा १३.४७ प्रतिशतले घटेको छ । चालु आवको चैत मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३३ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए । खराब कर्जा बढ्दा बैंकहरूको वितरण योग्य नाफा पनि ऋणात्मक भएको छ । चैत मसान्तसम्म १ दर्जन बढी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
१० बैंकको खराब कर्जा ४ प्रतिशत माथि
चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूमध्ये १० वटाको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । जसमा गत वर्ष मर्जरमा गएका सबै बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको हो ।
समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.४९ प्रतिशत छ । गत वर्ष यही अवधिको तुलनामा यस बैंकको खराब कर्जा तीन गुणाले बढेको छ । गत वर्ष यसको खराब कर्जा १.८२ प्रतिशत मात्र थियो । साविको लक्ष्मी र सनराइज बैंक मर्ज भई बनेको यस बैंकको खराब कर्जा अहिले राष्ट्र बैंकले तोकेको सीमा ५ प्रतिशतभन्दा माथि पुगेको हो । खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्छ । साथै, लाभांश वितरण र व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ ।
गत वर्ष साविकको सिभिल बैंकलाई गाभेको हिमालयन बैंकको खराब कर्जा ४.९६ प्रतिशत पुगेको छ । त्यस्तै, साविकको एनसीसी बैंकलाई गाभेको कुमारीको खराब कर्जा ४.९५ प्रतिशत पुगेको छ ।
त्यस्तै, बिग मर्जरबाट ठूला बनेका प्रभु, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि खराब कर्जा ४ प्रतिशत माथि छ । जसमा प्रभुको ४.८१, नबिल ४.०४ प्रतिशत, ग्लोबलको ४.७४ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ४.६६ प्रतिशत पुगेको छ ।
त्यस्तै, सरकारी स्वामित्वको नेपालको खराब कर्जा ४.८५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.३ प्रतिशत पुगेको छ । बिगमर्जर बिनै ठूलो बनेको प्राइम कमर्शियल बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा सिटिजन्स, माछापुच्छ्रे, कृषि विकास, एनआइसी एशिया बैंकको खराब कर्जा ३ प्रतिशत माथि छ । त्यस्तै, एनएमबी, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टडको २ देखि ३ प्रतिशत बीचमा छ भने नेपाल एसबीआइ र सानिमाको १ देखि २ प्रतिशत बीचमा छ ।
समीक्षा अवधिमा खराब कर्जाका आधारमा एभरेष्ट बैंक सबैभन्दा अब्बल बनेको छ । २० वाणिज्य बैंक मध्ये एभरेष्टको मात्र खराब कर्जा १ प्रतिशतभन्दा कम छ । अर्थात् ०.७ प्रतिशत मात्र छ । गत वर्षको तुलनामा एभरेष्टको खराब कर्जा स्थिर रहेको छ ।