एभरेष्ट बैंककाे खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै, कति दिन सक्छ लाभांश ?

काठमाडौं । अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बेला एभरेष्ट बैंकको भने खुद नाफाभन्दा धेरै रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ छ ।

जबकि यही अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ छ । जसबाट बैंकले प्रतिसेयर ३१.१७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

चालु आवमा एभरेष्टले गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.७७ प्रतिशतले बढाउन सफल भएको छ । गत वर्ष चैतसम्म बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंककोे संचालन नाफा ५.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकले २ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। हाल ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे सेयर प्रिमियममा २३ करोड ८४ लाख, रिटेन्ड अर्निङमा २ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानीमा झिनो गिरावट आएको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी ३०.७४ रुपैयाँबाट घटेर २९.५५ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशत, प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ, बेसरेट ८.१३ प्रतिशत, सीडी रेसियो ८३.५० प्रतिशत, स्प्रेडदर ४ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोतमा Read Previous

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोतमा

मुस्ताङमा पर्यटकको लर्को, एक वर्षमा पुगे ४.१४ लाख Read Next

मुस्ताङमा पर्यटकको लर्को, एक वर्षमा पुगे ४.१४ लाख