काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिद गर्न लिएको ऋणमध्ये ५३ करोड रुपैयाँ तिरेको छ ।
निगमले नागरिक लगानी कोष र सञ्चय कोषलाई चैत मसान्तसम्म किस्ता बापत ५३ करोड ९ लाख ५५ हजार २ ८१ रुपैयाँ भुक्तानी गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्ताबापत तिर्नुपर्ने पूरै रकम तिरेको छ ।
त्यस्तै, दुई वाइड बडी जहाजको आंशिक किस्ता मात्रै तिरिएको उनले बताए ।व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि हालसम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ किस्ता रकम भुक्तानी गरेको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जनाएको छ ।