आइएमई ग्रुपद्धारा कैलालीमा केबलकार निर्माण सुरू, २ वर्षमा सकिने

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

रु ५ अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ ३.१ किलोमिटरको हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक ६ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।

शुभारम्भको अवसरमा अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबलकार निर्माण सुरु गरिएको बताए ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

आठ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको जानकारी दिँदै अध्यक्ष ढकालले आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केबलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ ।

केबलकारबाट हुने कूल आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । केबलकार निर्माणपछि पर्यटन प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

केबलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा १०० बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ । आयोजनाको ‘राइट अफ वे’ मा पर्ने रुख कटान कार्य पनि सुरु गरिएको हो । आयोजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख छन् । केबलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको बताइएको ।

चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिनेछ । आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको सहभागिता रहेको जानकारी दिइएको छ ।

कोकाकोला पिउँदा २० लाखसम्म जित्ने अवसर Read Previous

कोकाकोला पिउँदा २० लाखसम्म जित्ने अवसर

एप्पललाई उछिन्दै सामसङ बन्याे 'नम्बर वान' स्मार्ट फोन ब्राण्ड Read Next

एप्पललाई उछिन्दै सामसङ बन्याे 'नम्बर वान' स्मार्ट फोन ब्राण्ड