चैतमा चालु वर्षकै तेस्रो धेरै घरजग्गा किनबेच, रोजाइमा यी ठाउँ

"चालु वर्षकै धेरै राजस्व संकलन"

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा साढे ४९ हजार बढी घरजग्गा किनबेच (लिखत पारित) भएको छ । भूमि व्यवस्थापन विभागका अनुसार चैत महिनामा कुल ४९ हजार ६१२ वटा घरजग्गा किनबेच भएको हो ।

यो चालु वर्षकै तेस्रो धेरै कारोबार हो । यसअघि फागुनमा यस आवकै धेरै ५० हजार ९९८ वटा र माङमा ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएको थियो । फागुनको तुलनामा चैतमा घरजग्गा कारोबार १ हजार ३८६ वटाले कमी आएको छ ।

विगत डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा लयमा आउन थालेको छ । पछिल्लो तीन महिना यता लगातार मासिक ४९ हजार बढी घरजग्गा किनबेच भएका छन् ।

चालु आवको ९ महिनामा कुल ३ लाख ७८ हजार ८१६ वटा घरजग्गा किनबेच भएका छन् । चालु आवको साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१, पुसमा ४५ हजार २७७ वटा, माघमा ५०  हजार ९२१ र फागुनमा ५० हजार ९९८ वटा घरजग्गा कारोबार भएको छ ।

सरकारी नीतिगत सहजता, घरजग्गा कर्जा लगानीमा लचकता, बैंकिङ प्रणालीमा अधिक तरलता, घट्दो ब्याजदर, अर्थतन्त्रमा क्रमशः देखिन थालेको सुधार लगायत कारणले माघमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको हो ।

घरजग्गा व्यवसाय चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को नीचिगत लचकता अपनाउँदै आएका छन् । सरकारले गत साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कर्जा लगानीमा लगाएको अंकुश हटाउँदै लगेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, पहिलो त्रैमासिम समीक्षा मार्फत रिय ई-स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्र बैंकले गत असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई-स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीरपरियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो ।

यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट एकल अंकमा झरिसकेको छ । नीतिगत कडाइ र आर्थिक मन्दीका पछिल्लो समय घरजग्गा किनबेच गर्न नसकेकाहरू अहिले बैंकबाट ऋण लिएर किन्न थालेको छन् । जसले घरजग्गा कारोबार चलायमान बनाउँदै लगेको छ । पछिल्ला महिनाहरूमा क्रमशः आर्थिक गतिविधिहरू चलायमान हुन थालेकाले पनि कारोबारमा सुधार देखिएको हो ।

चैतमा चालु वर्षकै धेरै राजस्व संकलन

घरजग्गा कारोबार बापत चैतमा चालु आर्थिक वर्षकै धेरै राजस्व संकलन भएको छ । विभागको अनुसार चैतमा देशभरका मालपोत कार्यालयहरूबाट कुल ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संलकलन भएको हो ।

यो चालु वर्षकै धेरै हो । यसअघि गत असोजमा सर्वाधिक ४ अर्ब ८ करोड रुपैयाँँ राजस्व संकलन भएको थियो । फागुनको तुलनामा घरजग्गा किनबेच घटे पनि राजस्व भने ३५ करोड रुपैयाँले बढेको छ । । फागुनमा घरजग्गा कारोबार बापत ३ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको ९ महिनामा घरजग्गा कारोबारबाट कुल ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २ अर्ब ८६ करोड, पुसमा ३ अर्ब २० करोड र माघमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व पाएको थियो ।

यी ठाउँमा भयो धेरै किनबेच

चैत महिनामा पनि विगतमा जस्तै तराईका जिल्लाहरूमा धेरै घरजग्गा किनबेच भएको छ । यस महिना मालपोत कार्यालयब इनरुवाबाट सबैभन्दा धरै २ हजार ८२ वटा लिखत पारित भएको छ।

त्यस्तै, मालपोत कार्यालय भद्रपुरबाट १ हजार ८३५, जनकपुरबाट १ हजार ८२३, मोरङबाट १ हजार ७९९, राजविराजबाट १ हजार ३०२, मलंगवाबाट १ हजार १८२, सिराहबाट १ हजार ९३, जलेश्वरबाट १ हजार ५४ र लहानबाट १ हजार २७ वटा लिखत पारित भएका छन् ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय लगनखेलबाट सबैभन्दा धेरै १ हजार २ वटा घरजग्गा किनबेच भएको छ । त्यसैगरी, मालपोत कार्यालय भक्तपुरबाट ९६९, कलंकीबाट ७३१, चाबहिलबाट ४९१, साँखुबाट ४४५, मनमैजुबाट २४९, डिल्लीबजारबाट २०५ र टोखाबाट १५४ वटा लिखित पारित भएके छ ।

संसद्को चालु अधिवेशन आजदेखि अन्त्य, ३ वटा विधेयक पारित Read Previous

संसद्को चालु अधिवेशन आजदेखि अन्त्य, ३ वटा विधेयक पारित

नयाँ वर्षलाई नेप्सेको रातो झण्डा Read Next

नयाँ वर्षलाई नेप्सेको रातो झण्डा