संसद्को चालु अधिवेशन आजदेखि अन्त्य, ३ वटा विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए । बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए ।

चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ । यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।

आजको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए । साथै उनले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो

अज्ञात व्यक्तिद्वारा एनआइसी एशिया बैंकमा तोडफोड Read Previous

अज्ञात व्यक्तिद्वारा एनआइसी एशिया बैंकमा तोडफोड

चैतमा चालु वर्षकै तेस्रो धेरै घरजग्गा किनबेच, रोजाइमा यी ठाउँ Read Next

चैतमा चालु वर्षकै तेस्रो धेरै घरजग्गा किनबेच, रोजाइमा यी ठाउँ