काठमाडौं । वैशाख (२०८१)मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको ‘लकइन पिरियड’ सकिने भएको छ । वैशाख महिनामा माथिल्लो मैलुङखोला जलविद्युत, चिरख्वा हाइड्रोपावर, रुरु जलविद्युत् र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरको लकइन अवधि सकिने भएको हो ।
ती कम्पनीहरूले आयोजना प्रभावित क्षेत्रका स्थानीय, संस्थापक, कर्मचारी र सामूहिक लगानी कोषलाई जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको सेयरको लकइन सकिनु १ महिना अगावै सूचना जारी गरी जानकारी लगराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीहरूले लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका छन् ।
वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ ।
त्यस्तै, वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन पिरियड सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ ।
त्यसैगरी, वैशाख १५ गतेदेखि चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरको लकइन पिरियड सकिनेछ ।
त्यस्तै, वैशाख ३० गतेदेखि सीईडीबी हाइड्रोपावरको संस्थापक र कर्मचारीहरुको सेयर लकइन सकिने छ । जसमा संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयर रहेको छ ।
सबै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न पाइने छ ।