वैशाखमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले वैशाखमा पनि थप घटाएका हुन् ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् । बैंकिङ प्रणालीमा अहिले ५ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् भने राष्ट्र बैंकले पनि बेलाबेलामा तरलता खिचिरहेको छ । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

वैशाखका लागि २० मध्ये १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् एभरेष्ट र एनएमबीले बढाएका छन् । ५ बैंकले भने चैतकै ब्याजदर यथावत राखेका छन् ।

एनएमबीले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपमा ०.९७ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । त्यस्तै, एभरेष्टले ०.५ प्रतिशत बिन्दुले बढाएको छ ।

वैशाखमा एनआइसी एशियाले व्यक्तिगतमा सर्वाधिक ०.८० प्रतिशत बिन्दु र संस्थागतमा ०.८५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, ग्लोबल, लक्ष्मी, माछापुच्छ्रे र प्रभु बैंकले पनि निक्षेपको ब्याजदर ०.५० प्रतिशत बिन्दुभन्दा धेरैले घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरको अन्तर १ प्रतिशत मात्रै हुनुपर्ने व्यवस्था गरेपछि संस्थागत निक्षेपको ब्याजदर बढाएका हुन् ।

चैतको तुलनामा वैशाखमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१८ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागततर्फ ०.१३ प्रतिशत विन्दुले बढाएका छन् । चैतमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७.२५३ प्रतिशत रहेकोमा वैशाखमा घटेर ७.०७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर चैतमा ६ प्रतिशत रहेकोमा वैशाखमा ५.८७ प्रतिशतमा झरेको छ ।

वैशाखमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.३१ प्रतिशतसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ७.९७ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार सातौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल Read Previous

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

नारायणगढ-मुग्लिन सडकमा ११ नयाँ पुल सञ्चालनमा आए Read Next

नारायणगढ-मुग्लिन सडकमा ११ नयाँ पुल सञ्चालनमा आए