काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) वाणिज्य बैंकहरूले सवा ४२ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म २० वाणिज्य बैंकहरूले कुल ४२ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
फागुन महिनामा मात्रै वाणिज्य बैंकहरूले ६ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । फागुनमा बैंकहरूले अरु महिनामा जस्तै औसत नाफा कमाएका छन् । बैंकहरूले चालु आवमा औसतमा मासिक ५ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसक्दा यस वर्ष बैंकहरूले लक्ष्य अनुसार नयाँ कर्जा विस्तार गर्न सकेका छैनन् । अहिले बैंकहरूलाई विगतमा गरिएको कर्जाको ब्याजले नै भरथेग गरिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म बैंकहरूले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय कर्जाको ब्याजदर सस्तिए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न र उद्यमीको मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।
राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, ८ महिनामा लक्ष्यको करिब ३६ प्रतिशत मात्र कर्जा विस्तार गरेको छ ।

यस्तै, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा पनि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् । समयमै कर्जा असुली नहुँदा खराब कर्जा बढ्न जाँदा बैंकहरूको प्रोभिजनिङ दायित्व बढेको छ ।
पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेका नीतिगत लचकताले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत देखिएको छ । घट्दो ब्याजदर र आर्थिक गतिविधि बढ्न थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकहरूको अपेक्षा ।
कुन बैंकले कति कमाए ?
फागुनसम्म नबिल बैंकले सर्वाधिक ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिललाई पछ्याएको ग्लोबले यस अवधिमा ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नबिलले ग्लोबलकोभन्दा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
फागुनसम्म ग्लोबल र नबिल बाहेक अरु ६ बैंकले २ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । जसमा प्राइम कमर्शियल २ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ८७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा २ अर्ब ८० करोड, एनआइसी एशिया २ अर्ब ५४ करोड, एभरेष्ट २ अर्ब २९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, ८ महिनामा ६ बैंकले डेढ अर्ब बढी खुद नाफा कमाएका छन् । फागुनसम्म कृषि विकासले १ अर्ब ९७ करोड, हिमालयन १ अर्ब ९४ करोड, एनएाबी १ अर्ब ९२ करोड, लक्ष्मी सनराइज १ अर्ब ८२ करोड, सिद्धार्थ १ अर्ब ६९ करोड र सानिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा ५ बैंकले भने डेढ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा नेपाल एसबीआई बैंकले सबैभन्दा कम १ अर्ब ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, कुमारी १ अर्ब ४२ करोड, नेपाल बैंक १ अर्ब २८ करोड, सिटिजन्स १ अर्ब १६ करोड र माछापुच्छ्रेले १ अर्ब १६ करोड नाफा कमाएको छ । राष्ट्र बैंकको तथ्यांकमा प्रभु बैंकको नाफा भने उल्लेख छैन ।