काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसके । गत आर्थिक वर्षको लाभांश पनि घोषणा गरिसके । यो कर तिर्ने समय पनि होइन ।
तेस्रो त्रैमासको वित्तीय विवरण आएर लाभांशको आंकलन गर्न सकिने चैत महिना पनि होइन यो । बैंकको ब्याजदरमा उल्लेख्य गिरावट आएर ऋण सस्तो भएको पनि छैन । सेयर बजारले ‘खलनायक’ पात्रका रुपमा उभ्याएका युवराज खतिवडाको पद पनि यथावत नै छ ।
हल्लैहल्लाको भरमा दौडिने भनेर आरोप खेप्दै आएको सेयर बजारमा पछिल्लो समय तरंगित हुनेगरी कुनै व्यक्ति वा निकायको अभिव्यक्ति पनि आएको छैन् भने सरकारले पनि सुधारको कुनै ठोस योजना सार्वजनिक गरेको छैन् ।
तर, सेयर बजारका लागि प्रतिकूल अवस्था मानिएको अहिलेको अवस्थामा पछिल्लो ५ दिन दिनदेखि लगातार बढिरहेको बजारले केही हदसम्म आशामुखी बनाएको छ । यी पाँच दिनमा नेप्से परिसूचक ३७ अंकले बढिसकेको छ भने औसतमा २५ करोडको कारोबार हुँदै आएकोमा बढेर आज ४६ करोड पुगेको छ ।
यसले लामो समयदेखि ‘वियरिस ट्रेन्ड’को मारमा पिल्सिएका लगानीकतालाई थप आशावादी बनाएको छ । उनीहरुको मनोबल बलियो हुँदै गएको संकेत गर्दछ । सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्नु भनेको सकरात्मक पक्ष हो ।
यसले के लामो समय देखि शिथिल रहेको सेयर बजारमा ‘बुल रन’ आएकै हो त भन्ने प्रश्न खडा भएको छ ।
सेयर बजार मापक सूचक नेप्से १३.५४ अंकले बढेर ११४८.८९ विन्दुमा पुगेको छ । आज १७३ कम्पनीको ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ । १४ लाख ५९ हजार ७ सय कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका कूल १७३ कम्पनीमध्ये १७ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।कारोबार भएका १२ वटा समूहमध्ये दुईवटा समूहको मात्र सूचक घटेका छन् ।
‘अन्य’ र म्युअचल फण्ड बाहेक सबै उपसूचकहरु बढेका छन् । बैंकिङ ७.९१, ट्रेडिङ १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलबिद्युत १६.८, वित्त ७, नन लाइफ १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र लाइफइन्स्योरेन्स ६०.९८ अंकले बढेका छन् ।
आज ६ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । १० प्रतिशतले बढेका ६ कम्पनी मध्ये ५ वटा लघुवित्त हुन् भने अर्को एक कम्पनी अरुण कावेली जलविद्युत हो ।
आज सबैभन्दा बढि नेपाल बैंकको २२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा एनएमबी बैंकको १८ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी डिप्रोक्स र स्वाबलम्बन लघुवित्तको पनि उल्लेख्य कारबार भएको छ ।
अर्थमन्त्री लगायत अन्य जति पनि विषयले सेयर बजारलाई बढ्न रोकेको भनेर विश्लेषण गरिदैं आएको थियो, ति सबै विषय यथावत रहदै सेयर बजारले सकारात्मक बाटो समाउन खोज्नुले केही सकारात्मक कौतुहलता भने पक्कै पनि जन्माएको छ ।
प्रत्येक ७–८ वर्षको अन्तरालमा बुल रन समाउने ऐतिहासिक ‘लिगेसी’ बोकेको नेपाली सेयर बजार एउटा अर्को बुल रनको संघारमा उभिएकै हो त भन्ने प्रश्नको जवाफ खाज्न भने केही समय पक्कै पनि कुर्नै पर्ला ।