काठमाडौं । आगामी वैशाख ५ गते परेको रामनवमीका दिन मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गराउन एकैदिन ५ वटा माउन्टेन फ्लाइट हुने भएको छ ।
टुर एण्ड ट्राभल्स पथिल होलिडेज प्रालिले श्री एअरलाइन्सको विमानबाट उक्त उडानको तयारी भइरहेको जनाएको छ ।
‘हामीले पाँचवटा उडानका लागि अग्रीम बुकिङ खुला गरिसकेका छौँ,’ होलिडेजका सुपरभाइजर पेशल दाहालले भने। खास गरी रामनवमी जस्ता विभिन्न पर्वमा यस्ता उडान बढी हुने गरेको उनको भनाइ छ ।
श्री एयरलाइन्सले गत माघ दोस्रो सातादेखि नेपालगञ्जबाट कैलाश मानसरोवर माउन्टेन फ्लाइट सेवा सुरु गरेको थियो । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित टुर एण्ड ट्राभल्स पथिल होलिडेजको परिकल्पनामा भारतको तीर्थयात्रासम्बन्धी कम्पनी ट्रिप टु टेम्पल्ससँगको सहकार्यमा पर्वतीय उडान गराउँदै आएको छ ।
नेपालगञ्ज-कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकलाई ‘विन्डो सिट’का लागि भारु ४० हजार र सामान्य सिटका लागि भारु २१ हजार शुल्क निर्धारण गरिएको छ । भारु ४० हजार शुल्क तिर्ने पर्यटकलाई एक रात आवास तथा खानाको समेत प्रबन्ध गरिएको छ ।
त्यस्तै, नेपालीहरुको हकमा भने ‘विन्डो सिट’का लागि २८ हजार रुपैयाँ र साधारण सिटका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ ।