काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । आइतबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३६ हजार २०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि आइतबार प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २७८.७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६८५ रुपैयाँ कायम भएको छ ।