कस्तो छ अर्थतन्त्रको पछिल्लो अवस्था ? हेरौं १० तथ्यांकमा

काठमाडौं । अर्थतन्त्रको बाह्यसँगै आन्तरिक क्षेत्रमा पनि क्रमशः सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुन)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ । बाह्य क्षेत्रका अधिकांश सूचक २ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् । विदेशी मुद्रा, रेमिट्यान्स आप्रवाह हालसम्मकै धेरैको रेकर्ड बनाएको छ । त्यस्तै, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता लगायत सूचकमा पनि निकै सुधार देखिएको छ ।

विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मूल्यवृद्धि पछिल्ला ३ महिनादेखि लगातार सीमाभन्दा तल रहेको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा लगानी, पूँजीगत खर्च लगायतमा सुधार आएको देखिएको छ ।

यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।

पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले कित्ताकाटमा खुकुलो बनाएको छ भने राष्ट्र बैंकले कर्जा लगानीमा लगाएका अंकुशहरू क्रमशः हटाउँदै लगेको छ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भने ब्याजदर घट्दो क्रममा छ । यद्यपि, अपेक्षित रुपमा कर्जाको माग भने बढ्न सकेको देखिँदैन ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचितिको पौने १९ खर्ब :  विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्म २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । फागुन मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब १४ करोड डलर संचिति छ ।

२. १२ महिनाकाे आयात धान्ने : डेढ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलुक श्रीलंका जस्तै बन्छ भन्ने आतंक फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । फागुनसम्म राष्ट्रिय ढुकुटीमा १ वर्ष बढीको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । जुन पछिल्लो ३ वर्ष यताकै बलियो अवस्था हो ।

आव २०८०/८१ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

३. साढे ९ खर्ब रेमिट्या भित्रियो : चालु वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार औसतमा मासिक १ खर्ब रेमिट्यान्स भित्रिँदै आएको छ । फागुन मसान्तसम्म विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएर ९ खर्ब ६१ अर्ब करोड पुगेको छ । यो कुनै पनि आवको ८ महिनामा भिएको हालसम्मकै धेरै रेमिट्यान्स हो ।

४. शोधनान्तर स्थिति ३२७ अर्ब बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १७ अर्ब रूपैयाँ बचतमा थियो ।

त्यस्तै, चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो ।

५. व्यापार घाटामा २.५ प्रतिशतले कमी : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको फागुनको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रू १० खर्ब ३० अर्ब २२ रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ४ प्रतिशतले कमी आई रू. १ खर्ब ६२ करोड कायम भएको छ ।

६. सरकारको खातामा २ खर्ब नगद मौज्दात  : चालु आवको फागुन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ बढी नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु६५ अर्ब ३६ करोड रूपैयाँ मात्र थियो।

७. निक्षेप ७.६ र कर्जा ४.२ प्रतिशतले बढ्यो : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन ७.६ प्रतिशत अर्थात् ४ खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ४.२ प्रतिशतले बढेको छ । चालु वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।

८. आधारदर ८.७७ प्रतिशत झर्यो : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ फागुनमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ ।

त्यस्तै, २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधारदर ८.७७ प्रतिशत, विकास बैंकहरूको १०.७१ प्रतिशत र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.६४ प्रतिशत रहेको थियो।

२०८० फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत, विकास बैंकहरूको ७.९३ प्रतिशत र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो ।

९. मुद्रास्फीति ४.८२ प्रतिशतमा सीमित : चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।

फागुनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।

१०. सरकारको आम्दानी र खर्च बीचमा १६२ अर्बको खाडल : यस अवधिमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच १ खर्ब ६२ अर्ब ५३ रुपैयाँको खाडल देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनसम्म सरकारको कुल खर्च ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ छ भने राजस्व संकलन (आम्दानी) ६ खर्ब ३९ अर्ब रुपैयाँ मात्र छ । यस अवधिमा सरकार १ खर्ब ६२ अर्ब रुपैयाँमा घाटामा छ । समीक्षा अवधिमा सरकारको खर्च २.९ प्रतिशतले बढेको छ भने राजस्व संकलन ९.७ प्रतिशतले बढेको छ ।

 

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, डलर संचिति १४ अर्ब नाघ्यो Read Previous

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, डलर संचिति १४ अर्ब नाघ्यो

प्रभु बैंक र  गण्डकी ट्याक्सी व्यवसायी बीच सम्झौता Read Next

प्रभु बैंक र  गण्डकी ट्याक्सी व्यवसायी बीच सम्झौता