फिड मिलमा निजी क्षेत्रको ४० अर्ब लगानी, मागको २०% मकै मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा महासंघका अध्यक्ष ढकालले सो प्रस्ताव राखेका हुन्। ढकालले करिब ९ लाख ८० हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने र नेपालमा वार्षिक करिब ३० लाख टन मकै उत्पादन हुने गरेको बताए । नेपालमा मकै मुख्यतया मानिसको खाना, गाईवस्तुको दाना र चाराका लागि प्रयोग हुने गरेको उनले बताए ।

वार्षिक करिब ६ लाख मेट्रिक टन मकै आवश्यक पर्ने १४० फिड मिलमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ लगानी गरेको ढकालले जानकारी दिए । तर, फिड मिलका लागि आवश्यक पर्ने कुल मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति हुने गरेको उनले बताए । बाँकी भारत र अन्य तेस्रो मुलुकबाट आयात हुने गरेको उनले बताए ।

नेपालमा औद्योगिक मकैको माग हरेक वर्ष बढ्दै गएको पनि उनले जानकारी दिए । उनले आर्थिक वर्ष २०२१/२२ मा नेपालले मुख्यतया दाना उद्योगका लागि १९ अर्ब ६५ करोड रुपैयाँको मकै आयात गरेको जानकारी गराए ।

मकैको उत्पादनपछिको गतिविधिलाई प्रवद्र्धन गर्न केही पहल भइसकेको भए पनि सरकार र विकास साझेदारको ध्यान उत्पादनको पक्षमा रहेको ढकालले बताए । उनले मकै उत्पादन बढाउन मकैमा कार्यरत सबै विकास निकायलाई अनुसन्धान र विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष ढकालले कटनीपछिका गतिविधिलाई प्रवद्र्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह पनि गरे । देशले त्यसो गर्न सकेमा आयात प्रतिस्थापन गर्न सकिने र मकैमा निर्भर किसानले बढी आम्दानी गर्न सक्ने उनले बताए ।

रोकिएन सुनको मूल्य वृद्धि, तोलाको १ लाख ३४ हजार पुग्यो Read Previous

रोकिएन सुनको मूल्य वृद्धि, तोलाको १ लाख ३४ हजार पुग्यो

बेनी-जोमसोम-कोरला सडकको सबैभन्दा जोखिमयुक्त काभ्रे भीरमा 'रक एङ्करिङ' गरिँदै Read Next

बेनी-जोमसोम-कोरला सडकको सबैभन्दा जोखिमयुक्त काभ्रे भीरमा 'रक एङ्करिङ' गरिँदै