दोस्रो त्रैमासमा ४% आर्थिक वृद्धि : १७ क्षेत्रको वृद्धि धनात्मक, उद्योग मात्रै ऋणात्मक

"आवास तथा भोजन र जलविद्युत् क्षेत्रको वृद्धिदर उच्च"

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक-पुस)मा ४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको हो । गत वर्ष दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो । चालु वर्षमा अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको देखिएको छ । पहिलो त्रैमास (साउन-असोज)मा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर थियो।

दोस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धि हुनुमा धानलगायत अन्न बाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आवागमनमा भएको वृद्धि, पर्यटन क्षेत्रमा आएको सुधार लगायत कारण रहेका छन् । व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रको धनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको प्रतिवेदनमा उल्लेख छ ।

दोस्रो त्रैमासमा अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ क्षेत्रको वृद्धिदर धनात्मक रहेको छ । गत वर्ष यही अवधिमा १८ मध्ये १२ क्षेत्रको वृद्धिदर मात्रै धनात्मक थियो भने ६ क्षेत्रको ऋणात्मक थियो । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा प्रस्तुत गरिएका कुल १८ क्षेत्रमध्ये ६ वटा औद्योगिक क्षेत्रमा आएको संकुचनको प्रभाव जीडीपीमा देखिएकाले अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

चालु वर्षमा आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २९.३ प्रतिशत रहेको कार्यालयले जनाएके छ । त्यसैगरी, विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार चालु वर्षमा यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १४.३ प्रतिशत वृद्धिदर कायम रहेको छ । त्यस्तै, वित्तीय र बीमा क्षेत्र ९.१ प्रतिशत, निर्माण क्षेत्र २.२ प्रतिशत वृद्धि, थोक र खुद्रा व्यापार, मोटरवाहन र मोटरसाइकल मर्मत ०.५ प्रतिशत, सूचना र सञ्चार क्षेत्र २.९ प्रतिशत, घरजग्गा क्षेत्र २.७ प्रतिशत, व्यावसायिक वैज्ञानिक र प्राविधिक क्षेत्रको वृद्धिदर ३.९ प्रतिशत रहेका छन् ।

त्यसैगरी, प्रशासनिक र सेवा क्षेत्रको वृद्धिदर २.६ प्रतिशत, सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सुरक्षा ६.४ प्रतिशत, शिक्षा क्षेत्र ०.८ प्रतिशत, स्वास्थ्य र सामाजिक क्षेत्र ३.७ प्रतिशत, कला, मनोरञ्जन र अन्य सेवा क्षेत्रको वृद्धिदर ९.९ प्रतिशत हुने कार्यालयको अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानलगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धिदर १.७ प्रतितश थियो ।

यस वर्षको दोस्रो त्रैमासमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने ०.५ प्रतिशतले मात्र वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १४.४ प्रतिशतले ऋणात्मक थियो । ‘व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो,’ प्रतिवेदनमा भनिएको छ ।

चालु वर्षमा उत्पादनमूलक क्षेत्र भने ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । जबकि यो क्षेत्र पहिलो त्रैमासमा १.६ प्रतिशतले धनात्मक थियो । औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहेको कार्यालयको अनुमान छ ।

विगत तीन आर्थिक वर्षको त्रैमासक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर विश्लेषण गर्दा नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गरिरहेको नदेखिने कार्यालयले उल्लेख गरेको छ ।

नागढुंगा-नौबिसे सुरुङ खन्न अब ४ मिटर मात्रै बाँकी, कहिले गरिन्छ 'ब्रेक थ्रु' ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्न अब ४ मिटर मात्रै बाँकी, कहिले गरिन्छ 'ब्रेक थ्रु' ?

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि 'ड्रिलिङ सर्भे' सुरू Read Next

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि 'ड्रिलिङ सर्भे' सुरू