नागढुंगा-नौबिसे सुरुङ खन्न अब ४ मिटर मात्रै बाँकी, कहिले गरिन्छ ‘ब्रेक थ्रु’ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । नेपालकै पहिलो नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरव आयोजना समेत रहेको सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम अब (मंगलबारसम्म) ४ मिटर मात्र  बाँकी रहेको हो ।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये मंगलबारसम्म २६८४ मिटर खनिसकिएको छ । अब ४ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको छ । अब २ मिटर सुरुङ खनेर बाँकी २ मिटर ब्रेक थ्रु गर्ने दिन खनिने आयोजनाले जनाएको छ । हालसम्म ब्रेक थ्रु गर्ने मिति नतोकिए पनि वैशाख पहिलो साताभित्रै गर्ने आयोजनाको तयारी छ ।

आयोजनाको २५५७ मिटर लामो आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु गरिएको थियो । यसअघि जलविद्युत् र सिँचाइ आयोजनाका दर्जनौं सुरुङ खनिए पनि सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो ।

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको छ । सुरुङमार्गको ब्रेक थ्रुपछि पनि गाडी गुड्ने बनाउन भने झन्डै १ वर्ष लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

सुरुङमार्गको फिनसिङ, सुरक्षा, लाइटिङ, अक्सिजन जडान लगायत काम बाँकी छ । आयोजना अन्तर्गत निर्माण हुने अन्य १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । फ्लाइओभरको फाउन्डेसन र सबस्ट्रक्चर निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी काम सक्न करिब ६ महिना लाग्ने आयोजनाले जनाएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । कोरोनाका कारण तोकिएकै समयमा काम नसकिएपछि १ वर्ष म्याद थप गरिएको छ । थपिएको म्याद आगामी वैशाख १३  गते सकिँदै छ । सो समयमा सबै काम पूरा नहुने भएपछि फेरि म्याद थप्नुपर्नेछ । स्थानीयको आन्दोलनका फागुनमा झन्डै एक महिना आयोजनाको काम रोकिएको थियो ।

यो आयोजना कुल २२ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

आगामी वर्ष सरकारी ऋणको साँवाब्याज तिर्न मात्रै साढे ५ खर्ब चाहिने, स्रोत जुटाउन सकस Read Previous

आगामी वर्ष सरकारी ऋणको साँवाब्याज तिर्न मात्रै साढे ५ खर्ब चाहिने, स्रोत जुटाउन सकस

दोस्रो त्रैमासमा ४% आर्थिक वृद्धि : १७ क्षेत्रको वृद्धि धनात्मक, उद्योग मात्रै ऋणात्मक Read Next

दोस्रो त्रैमासमा ४% आर्थिक वृद्धि : १७ क्षेत्रको वृद्धि धनात्मक, उद्योग मात्रै ऋणात्मक