काठमाडौं । नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख अवस्थामा रहेको पाइएको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट २०२४’ प्रतिवेदनले यस्तो देखाएको हो ।
कोभिडपछि थलिएको नेपाली अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको विश्व बैंकले जनाएको छ । अर्थतन्त्रमा सुधार आएसँग चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा १.४ प्रतिशत बिन्दुले बढ्ने विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकका अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान छ । जबकि गत वर्ष सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत थियो ।
खुद्रा तथा थोक व्यापारमा संकुचन आए पनि बैंकिङ तथा बीमा गतिविधिमा भएको विस्तार, पर्यटक आवगमनमा भएको वृद्धि, रेमिट्यानस आप्रवाहमा भएको वृद्धिले अर्थतन्त्रमा सुधार देखिएको विश्व बैंकले जनाएको छ ।
यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने उसको अनुमान छ । विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा छ ।
आगामी वर्ष अर्थतन्त्रमा थप बलियो बन्दै जाने विश्व बैंकले जनाएको छ । आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण छ । यद्यपि, यो प्रक्षेपण बहुचुनौतिसहितको रहेको विश्व बैंकले जनाएको छ । जसमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त वृद्धिका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने विश्व बैंकले जनाएको छ ।
चुनौतीको सामना गर्नका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी रहेको उल्लेख गरेको छ । पूँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण हुने जनाइएको छ ।
सन् २०२६ मा ५.३ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।