काठमाडौं । दोस्रो बजारमा कारोबारमा आएको ९ दिनमै सर्वोत्तम सिमेन्टको १ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
गत चैत ६ गतेदेखि कारोबारमा आएको कम्पनीको आजसम्म (९ कारोबार दिनमा) कुल १ अर्ब ३ करोड २१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।
९ दिनमा कम्पनीको कुल १० लाख ७४ हजार ८८ कित्ता सेयर किनबेच भएको हो । कारोबार सुरु भएको ६ दिनसम्म करिब ९० हजार कित्ता मात्रै कारोबार भएको कम्पनीको पछिल्लो ३ दिनमै ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा सोमबार (आज) सर्वाधिक ५ लाख १४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
नेप्सेका अनुसार कम्पनीको पहिलोदिन २ हजार ४४२ कित्ता, दोस्रो दिन २ हजार २५६ कित्ता र तेस्रो दिन ७ हजार ३९५ कित्ता, चौथो २६ हजार ८८५ कित्ता, पाँचौं दिन २८ हजार ७५३ र छैटौं दिन २२ हजार ८८५ कित्ता, सातौं दिन १ लाख ७८ हजार ९२५ र आठौं दिन २ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेमा कम्पनीको साधरणतर्फको कुल ६० लाख कित्ता सेयर सूचीकृत छ । तर, हाल सर्वसाधरणलाई बाँडफाँट गरेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर मात्रै कारोबार योग्य छ । सामूहिक लगानी कोष, संस्थागत लगानीकर्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय र कर्मचारीका लागि जारी गरेको सेयर लकिङमा छ ।
हालसम्म पौने ११ लाख कित्ता सेयर कारोबार हुँदा कति आइपीओ र कति दोस्रो बजारबाट उठाएको सेयर किनबेच भयो भन्ने एकीन छैन । तर, अधिकांश सेयर आइपीओ पाएकाहरूले नै बेचेको देखिन्छ ।
कम्पनीको आइपीओ ५० कित्ताका दरले साढे ५५ हजार जनाले पाएका थिए । सोमध्ये हालसम्म २० हजार बढीले आइपीओ बेचेको अनुमान छ ।
आजसम्म कम्पनीको कुल २७ हजार १३१ पटक सेयर किनबेच भएको छ । यो आइपीओ पाएका र सुरुआती दिनमा दोस्रो बजारबाट सेयर उठाएका दुवैले गरेको कारोबार संख्या हो ।
आइपीओ पाउनेले ३६ हजारसम्म नाफा कमाए
कम्पनीको आइपीओ पाउनेले ३६ हजार रुपैयँँसम्म नाफा कमाएका छन् । प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ भरेका लगानीकर्ताले अधिकतम १०८३ रुपैयाँसम्म सेयर बेचका छन् । यस आधारमा ५० कित्ता आइपीओ पाएकाहरूले प्रतिकित्ता ७२२ रुपैयाँ अर्थात् ३६ हजार १०५ रुपैयाँसम्म नाफा कमाएका छन् ।
कारोबारमा आएके सातौं दिनसम्म लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य पछिल्ला दुई दिन भने घटेको छ । गत बिहीबार प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य घटेर आज ९४१ रुपैयाँमा झरेको छ । कम्पनीको सेयरको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुलेको थियो ।