नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ३ महिनामा सकिने

"अब पेट्रोल र मट्टीतेल पनि पाइपबाटै ल्याइने"

वीरगञ्ज  । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।

 दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी ३ महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ ।

 परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको कार्यालयका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

 सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण अघि बढेको उनको भनाइ छ । ‘सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिएका थियौँ । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कम्पनीले म्याद थपका लागि निवेदन दिएकाले म्याद थपको प्रक्रियामा छौँ, प्रमुख उपाध्यायले भने ।

 उनका अनुसार अहिले निर्माणाधीन अवस्थामा रहेका दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयत निगमको र अर्को भारतीय आयल निगमको लागतमा बनिरहेका छन्

 पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएका उनले जानकारी दिए ।

 पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । दोस्रो चरणको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने प्रमुख उपाध्यायले बताए ।

 एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ, उनले भने, आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ ।’

 पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । यो परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

करिब ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार निगमले थप ५/५ हजार किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण अघि बढाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

आगामी वर्षको बजेट लेखन सुरू, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन आग्रह Read Previous

आगामी वर्षको बजेट लेखन सुरू, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन आग्रह

नेप्सेमा लगातार गिरावट, सर्वोत्तम सिमेन्टको झन्डै आधा अर्बको कारोबार Read Next

नेप्सेमा लगातार गिरावट, सर्वोत्तम सिमेन्टको झन्डै आधा अर्बको कारोबार