काठमाडौं । नेपाल र चीन बीच विभिन्न सहरमा थप हवाई उडान गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका क्रममा उक्त सहमति भएको जानकारी दिएका हुन् ।
उनले नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप हवाई उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको बताए । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेको थियो । भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।
‘नेपाल-चीन बीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मेरो यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप गहिराइ र सम्मानलाई थप उचाइ प्रदान गरेको छ ।’
उनले दुई देशबीचको आपसी सहयोग र सहकार्यका क्षेत्रमा विस्तृत र स्पष्ट छलफल भएको बताए । भ्रमणले नेपाल र चीनबीच विद्यमान सदियौं पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
सन् २०१२ मा दुई देशबीच भएको सम्झौताबमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए ।
यस्तै नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको, भैँसीको मासु, वनस्पतीजन्य औषधि उत्पादन, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न आफूले अनुरोध गर्दा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले सीमाका केही क्षेत्रमा बहुआयामिक प्रयोगशाला स्थापना र नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन गर्न आग्रह गरिएको पनि बताए ।
यसैगरी, अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइनआदिको विस्तार गरी नेपाल–चीनबीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन् । कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाइ कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएका छन् ।
काठमाडौँमा आगामी वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका जनाउन, नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउन र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिएको उनले जनाए ।