नेपालगञ्ज भन्सारको राजस्व संकलनमा सुधार, ८ महिनामा उठ्याे साढे ११ अर्ब 

बाँके । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन १.३५ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५९ करोड ९ लाख ४३ हजार राजस्व सङ्कलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

चालु आवको ८ महिनामा रु ७ करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ । गत वर्षको सोही अवधिमा रु २ करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद भएको थियो ।

फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकामा ११ अर्ब ५९ करोड ९ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताए । विश्वकर्माका अनुसार लक्ष्यको ६१.७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उनका अनुसार चालु आवको फागुनसम्ममा रु ४६ अर्ब १७ करोड बराबरको सामान आयात आएको छ । गत वर्ष सोही अवधिमा रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । त्यसैगरी समीक्षा अवधिमा रु १ अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु १ अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो ।

यो वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशतले सामान आयात भएको छ । बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक २ लाख राजस्व सङ्कलन हुने गरेको छ ।

सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट हुने गरेको छ ।

चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु २ अर्ब ४५ करोड ३ लाख ७४ हजार रहेकोमा चैत १७ गतेसम्म रु ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ३२.६९ प्रतिशत हो ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन् । नेपालबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ ।

कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालीन बन्द Read Previous

कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालीन बन्द

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको काम निकै सुस्त, पूर्वीको आधा सकियो Read Next

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको काम निकै सुस्त, पूर्वीको आधा सकियो