वीरगञ्ज भन्सारमा थन्किए १२०० बढी सवारीसाधन, १० अर्ब राजस्व ‘होल्ड’ 

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयमा १ हजार २०० भन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबाइल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका १ हजार २०० भन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ १ हजार २०० भन्दा बढी  सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।’

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा  भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या २ हजार २०० भन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर १ हजार ८०० मा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या १ हजार २०० छ ।

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउँछन् । ‘पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै २हजार २०० सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ,’ उनले भने, ‘आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लागनी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।’

पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि विस्तारै छुटाउने नीति लिँदै आएको बताए।

प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउँछन् । ‘अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो,’ उनले भने, ‘भन्सार यार्डमा रोकिएका १ हजार २०० सवारीसाधनको जाँचपास हुने हो भने कम्तीमा पनि १० अर्ब  रूपैयाँ हाराहारीको राजस्व सङ्कलन हुनेछ ।’

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् । ‘अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्,’ पूर्वअध्यक्ष थापाले भने, ‘अहिले व्यावसायिक  गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।’

पूर्वअध्यक्ष थापाका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधन बाहेक अन्यमा फाइनान्सिङ गर्न हिच्किचाइरहेका छन् । ‘नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लागनी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या भएको हो ।’

विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०-८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यसबेला ‘डाउनपेमेन्ट’ भने २०-३० प्रतिशत तिरेमात्रै पुग्ने गथ्र्यो । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् । रासस

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न नेपालद्धारा ढाकामा कार्यशाला आयोजना Read Previous

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न नेपालद्धारा ढाकामा कार्यशाला आयोजना

गहुँको मूल्य वृद्धि नियन्त्रण गर्ने भारतको प्रयास, हरेक शुक्रबार भण्डारको स्थिति सार्वजनिक गर्नुपर्ने Read Next

गहुँको मूल्य वृद्धि नियन्त्रण गर्ने भारतको प्रयास, हरेक शुक्रबार भण्डारको स्थिति सार्वजनिक गर्नुपर्ने